कार्तिक महिनाको अन्तिममा आइपुग्दा देशभर चिसो बढेको छ । चिसोबाट हुने विरामीहरु पनि बढ्दै गएका छन् । चिसोका कारण विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा र बालबालिका त्यसबाट निकै प्रभावित हुन पुगेका छन् । दिउँसो घाम लागेर केही गर्मीको महसुस भए पनि बिहान–बेलुका भने चिसो सुरू भैसकेको छ । मौसम परिवर्तन भएसँगै मौसमी फ्लुका विरामी देखिन थालेका छन् । अस्पतालका बेडहरु विरामीले भरिभराउ हुन थालेका समाचारहरु समेत आएका छन् ।
कोरोनाजस्तै लक्षण देखिएका बिरामीहरुको बढ्दो चाप विभिन्न अपस्तालहरुमा भेटिन थालिए पनि उपचारपछि भने कोरोना नभएर मौसमी फ्लु नै भएको पुष्टि भैरहेको छ । यस्तो फ्लु प्रायः मौसम परिवर्तनको समयमा देखा पर्छ । मौसममा आएको एकाएकको परिवर्तनले हावापानीलाई समेत रुपान्तरण गर्ने हुनाले यस्ता किसिमका लक्षणहरु बिरामीहरुमा देखिनु अस्वाभाविक पनि छैन । एक्कासी ज्वरो आउने, सुख्खा खोकी निरन्तर लागि रहने, शरीर करकर लुछ्ने र टाउकोसमेत भारी हुँदै दुख्न थाल्यो भने त्यसलाई मौसमी फ्लुको रुपमा बुझ्न सकिन्छ । यस्तो अवस्थामा बिरामीहरुमा एकोहोरो ज्वरो आइरहने, निरन्तर खोकी लागिरहने मात्रै नभई श्वासप्रश्वासमा समेत समस्या आउँदा त्यसले शारीरिकरुपमा समेत कमजोर बनाउँछ । मौसमी फ्लु देख्दा सामान्य लाग्न सक्छ । अरुबेलामा पनि रूघाखोकी र ज्वरो आउने क्रम बेलाबेलामा देखिइरहने हुँदा यो त्यसैको निरन्तरता हो भनेर त्यत्तिकै बस्न सकिन्छ । त्यसलाई अन्य समयमा जसरी हेलचेक्र्याइँ गर्न थालियो भने पछि त्यो निमोनियाको कारक समेत बन्न सक्ने हुनाले बेलैमा त्यसप्रति सचेत हुन आवश्यक छ । चिसोका कारण मौसमी फ्लुका विरामीहरुलाई बढी नै प्रभावित पार्ने भएकाले समयमै चिसोबाट बच्ने उपाय अपनाउन जरुरी छ । चिसोको समयमा तराई लगायत चिसो ठाउँहरुमा मानव स्वास्थ्यमा समस्या देखिदै आएको छ । चिसो मौसममा विशेष गरी खोकी लाग्ने र ज्वरो आउने समस्या लिएर बिरामीहरू अस्पताल पुगिरहेका छन् । तसर्थ, सम्बन्धित निकायले चिसो प्रभावित क्षेत्रहरुमा औषधिको आपूर्तिमा विशेष ध्यान दिन आवश्यक छ । चिसोका कारण मृत्यु हुने मानिसको संख्या बढ्न थालेपछि मात्रै सरकारले चासो देखाउनुभन्दा चिसो मौसमभन्दा पहिला नै तयारी गर्नु बुद्धिमानी कार्य हुनेछ । विपद् व्यवस्थापन ऐनले समेत पूर्व तयारीको विषयमा स्पष्ट पारेको छ । सरकार सँगै आम नागरिकले चिसो मौसमसँगै आउन सक्ने स्वास्थ्य समस्याको समाधानका लागि समेत समयमै विशेष ध्यान दिनु आवश्यक छ ।