Shittalpati
काग र कुकुर तिहारको महत्व

नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने गरिन्छ । कागले राम्रा र नराम्रा सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ । यस वर्ष काग र कुकुर तिहार आजकै दिन परेका छन् ।

विशेषगरी काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ । अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको मानिन्छ । काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ । कुकुर तिहारको पनि आफ्नै महत्व रहेको छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आइएको छ । कुकुर तिहारको दिनमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरहरुलाई पनि माला लगाइदिइ टिका लगाइदिएर खाना खान दिइन्छ । विशेषगरी यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ । हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ । यमपञ्चकले पृथ्वीमा रहेका सबै जीव जनावरहरुलाई हामीले माया र संरक्षण गर्नुपर्छ भन्ने कुरा सिकाँउछ । त्यसै अनुसार मानवसभ्यताको सुरुवातदेखि नै मानवहरुलाई साथ दिँदै आएको कुकुरलाई विशेष महत्व दिएर पूजाआजा गरिन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update