Shittalpati
उपभोक्तामा सचेतना जरुरी

चाडपर्वका क्रममा सबै भन्दा बढी अखाद्य वस्तु र सामग्री वितरण हुने गर्दछ । यसबाट आमउपभोक्ता ठगिने गर्दछन् । उपभोक्तामा ज्ञान र सचेतनाको कमीका कारण व्यापारीहरुबाट आम उपभोक्ता दैनिक ठगिने गर्दछन् । उपभोक्ताले आफ्नो आवश्यकता अनुसार मालसामान खरिद गर्दछन् तर त्यो मालसामान वा वस्तुको उत्पादन कहाँ गरिएको हो ? उत्पादन कहिले गरिएको ? म्याद कहिलेसम्म छ ? उक्त मालसामान वा वस्तुमा के–के चिज वा वस्तुको समिश्रण गरिएको छ ? मूल्य कति राखिएको छ ? पसलमा मूल्यसूची राखिएको छ कि छैन ? जस्ता सामान्य कुरामा समेत ध्यान दिदैनन् ।

जसले गर्दा स्वास्थ्यमा मात्र होइन, सम्पत्तिमा समेत यसले नोक्सानी पुर्‍याइरहेको हुन्छ । गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्नु त टाढाको कुरा हो । हुन त उपभोक्ता अधिकारका बारेमा कानुन नभएको भने होइन । तर, आम जनसमुदायसम्म यसको जानकारी र सचेतना नहुँदा उपभोक्ता शिक्षा र अधिकारको कुरा ओझेलमा परेको देखिन्छ । जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएर रहेको यस विषयमा पर्याप्त छलफल, बहस, चर्चा र परिचर्चा हुन नसकेका कारण यसले राष्ट्रिय प्राथमिकता प्राप्त गर्न पनि सकेको छैन । देशका राष्ट्रपति प्रधानमन्त्रीदेखि लिएर श्रमिक मजदुरसम्म सबै आम उपभोक्ता हुन् । तर पनि उपभोक्ता अधिकार, सचेतना र सशक्तीकरणको विषय राष्ट्रिय मूल प्रवाहमा प्रवाहित हुन सकिरहेका छैनन् । उपभोक्तावादका चार सर्वमान्य सिद्धान्त छन् । पहिलो, प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्दछ । दोस्रो, उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा विक्री वितरण गर्ने प्रदायकहरूको हो । तेस्रो, वस्तु र सेवा उत्पादक, प्रदायक वा विक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ । उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । चौथो, बजारले उपभोक्तालाई सम्मान गर्नुपर्दछ । तर अहिलेसम्म त्यस्तो हुन सकिरहेको छैन । उपभोक्ता हित संरक्षण तथा आपूर्ति प्रणालीमा सर्वसाधारणको पहुँच सुनिश्चित हुन सकेको छैन । फलस्वरूप अझ पनि वस्तु र सेवामा हुने मिसावट, कालोबजारी, कृत्रिम अभाव, कार्टेलिङ, ठगी, सिन्डिकेट, अस्वाभाविक मूल्यवृद्धि, एकाधिकार जस्ता विकृति हट्न सकेका छैनन् । यसको मुख्य कारण उपभोक्ता सचेतनाको अभाव, कमजोर बजार अनुगमन, अव्यवस्थित सार्वजनिक आपूर्ति प्रणाली र उपभोक्ता हित संरक्षणसम्बन्धी नियमन संयन्त्रको निष्क्रियता हो । तसर्थ यस्ता विकृतिलाई कम गर्न उपभोक्ता सचेतना अत्यन्त आवश्यक रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update