यति बेला किसानहरु पीडामा छन् । हुन त सधै किसान केही न केही समस्याले पिरलिनु परेको छ । कहिले रासायनिक मल समयमा नपाइने, कहिले बोटमा फल नलाग्ने, कहिले खडेरी, कहिले बिचौलिया, कहिले बाढी–पहिरो । कहिले उत्पादनले बजार नपाउने । कहिले कोरोना महामारीका कारण उत्पादित वस्तु विक्री गर्न नसक्नु । किसान यस्तै–यस्तै समस्याबाट गुज्रिरहेका हुन्छन् ।
यस्ता घटनाबाट पिरोलिएका किसान अहिले भने बेमौसमी वर्षाले मारमा परेका छन् । मेहन गरेर लगाएको धान बेमौसमी वर्षाका कारण खेतमै डुबेका छन् । सुनजस्ता धानका पहेँलपुर बाला खेतमै डुब्दा किसान चिन्तित छन् । उनीहरूले वर्षभरि खाने अन्न मात्र गुमाएका छ्रैनन्, उनीहरूको जीविकाको आधार नै खोसिएको छ । नेपालमा नाफामूलक कृषिभन्दा निर्वाहमुखी कृषि प्रणाली व्याप्त छ । निर्वाहमुखी कृषि अनि उसैमाथि नेपालको सबैभन्दा महत्वपूर्ण धानबालीमा यो वर्ष बेमौसमी वर्षाले क्षति गरे पनि देशमा खाद्यान्न संकट उत्पन्न हुने देखिन्छ । यतिखेर हाम्रा अन्नदाता किसानहरू गम्भीर मारमा परेका छन् । बेमौसमी वर्षाले तिनको गाँस, बास र बाँच्ने आधार खोसिएको छ । उनीहरू सरकारबाट कुनै राहत पाइएला कि भन्ने आशामा छन् । देशमा स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार छन् । तिनले किसानको वास्तविक पीडा र क्षतिका आकलन गरी तत्काल राहत र पुनस्र्थापना गर्न सक्नुपर्छ । तर, उनीहरू आफैँ अलमलमा देखिन्छन् । सरकारले बनाउने बजेट, योजना र कार्यक्रममा किसानका विषय पहिलो प्राथमिकतामा पर्दैनन् । प्राकृतिक विपद्को चपेटामा पर्दा राहतका लागि पनि हार गुहार गर्नुपर्छ । कृषि प्रधान मुलुकमा यस्तो अवस्था हुनु दुःखद् कुरा हो । किसानको प्राकृतिक विपद्बाट खाद्यान्नमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी क्षतिपूर्ति र राहत दिने विषयमा तीनै तहका सरकार गम्भीर बन्न जरुरी छ । सरकार जनताको अभिभावक भएकाले पनि यतो बेलामा किसानलाई परेको पीडामा मलम पट्टी लगाउने काम गर्न सके किसानले केही हदसम्म भए पनि पीडा भुल्न सक्थे ।