Shittalpati
कर्मचारी माथिको दुरव्यवहार र उठेका सवालहरु

दुर्गा प्रसाद अर्याल

“एउटा जग्गा नाम सारी गर्न आएको हो बावु घुस नदिइत काम लिन सकिंदो रहेन छ । नदिऊ यो मिलेन र त्यो मिलेन भन्छन, भोली आउनु भन्छन् । काम भएन भनि टाढाको मान्छे बास बस्दा झनै बढी खर्च हुन्छ ।” मालपोत कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले व्यक्त गरेको भनाई हो । “आफ्नो उर्जा समय जागीरमा बिताईयो तर जागीर अवधीमा खासै ठूलो आर्थिक परिवर्तन गर्न सकिएन, न छोराछोरीलाई राम्रो शिक्षा दिन सकियो, न एउटा बास बनाउन सकियो, बावु नेपालको सरकारी जागीर त बाच्नका लागि मात्रै रहेछ ।” एकजना नायव सुव्बाबाट ३० वर्षको सेवा अवधी पुरा गरी भर्खर अवकाश प्राप्त गरेका व्यक्तीसगँ भएको कुराकानीको सानो अशं हो यो । नेपालका सबै कर्मचारीको यो अवस्था भने देखिदैन । इमान्दार कर्मचारीमा मात्र यो अवस्था देखिन्छ ।

“एक करोडको ठेक्कामा करीव ५० लाख विभिन्न निकायलाई छुट्टायाउदा नै जान्छ अनि कसरी गुणस्तरीय निर्माण हुन्छ र भाई ?” एक ठेक्दारसंगको सानो कुराकानीको अशं हो यो । यी उल्लेखीत केहि प्रतिनिधि विषयबाट केहि कर्मचारीतन्त्रमा रहेको बेथेती, केही कर्मचारीका पिडा र केही नेपालका विकास निर्माणका लागि बनाइएका नितिगत र झन्झटीला पक्षलाई देखाउन खोजिएको छ । पछिल्लो समय कर्मचारी, स्वास्थ्यकर्मी लगायत विभिन्न पेशामा आवद्ध व्यक्तिहरु शारीरिक तथा मानसिक दुर्भव्यवहारमा पर्नु परेको देखिन्छ । यीनै विषयका विविध सकरात्मक तथा नकरात्मक पक्षको बारेमा यहाँ चर्चा परिचर्चा गर्न खोजिएको छ । १८ औं शताब्दीको अन्त्य तिर फ्रान्सका अर्थशास्त्री भिन्सिन्ट डी गोर्नीले पहिलो पटक कर्मचारीतन्त्र शब्दको प्रयोग गरेका हुन । उनले कर्मचारीतन्त्रलाई कर्मचारी शासनको रुपमा उल्लेख गरेको पाईन्छ । कर्मचारीतन्त्रको सकारात्मक र व्यवस्थित व्याख्या गर्ने काम भने जर्मन समाजशास्त्री म्याक्स वेवरले गरेका हुन् । उनलाई आधुनिक कर्मचारी तन्त्रका पिताका रुपमा लिने गरेको पाईन्छ । राज्यको संगठनात्मक स्वरुपमा आवद्ध भै ऐन नियमको पालना गर्दै निश्पक्ष पूर्वक देश र जनताको निरन्तर सेवामा गर्ने कर्मचारीको पेशागत समूहलाई कर्मचारीतन्त्र वा द्यगचभबगअचबअथ भनिन्छ । कुनै पनि सरकार ५ वर्षमा परिवर्तन हुने तर कर्मचारी तन्त्रले भने निरन्तर काम गर्ने भएकाले यसलाई स्थायी सरकारको रुपमा लिने गरिन्छ । राणा साशन कालमा साशकहरुको आदेश र स्वेछाचारी तरीकाले कर्मचारीतन्त्र सञ्चालन भएको पाईन्छ भने नेपालको कर्मचारीतन्त्रलाई व्यवस्थित गर्ने काम प्रजातन्त्रको प्राप्ती पछि नै भएको देखिन्छ । वि.स २००८ सालमा लोकसेवा आयोगको गठन पछी नेपालको कर्मचारीतन्त्रमा निश्चित मूल्य, मान्यता र निश्चित प्रणालीको विकास भएको पाईन्छ । राणा साशनकालको कठोर साशन व्यवस्थामा किन नहोस, प्रजातन्त्र प्राप्तीको अवधि, पञ्चायती साशन व्यवस्था, वि.स.२०४६ सालको प्रजातन्त्रको पुनः प्राप्तीको अवधि वा १० वर्षे कहाली लाग्दो जनयुद्धको अवधि किन नहोस् विभिन्न धम्की, डर, त्रास तथा अप्ठयारो समयमा झोलामा कार्यालय बोकेर पनि नेपालको कर्मचारीतन्त्रले आफ्नो उपस्थिति तथा जनताको सेवामा निरन्तर लागिरहेको इतिहास भेटिन्छ । कर्मचारीतन्त्रलाई विकास र समृद्धिको आधार स्तम्भको रुपमा पनि लिने गरेको पाइन्छ ।

संघीयता र गणतान्त्रिक साशन व्यवस्था र त्यस पूर्वको १० वर्षे जनयुद्धले जनतामा चेतना विकास गरिदियो, अधिकार खोज्न सक्ने बनायो भन्ने पनि सुनिन्छ । केहि समूहले यसलाई उपलब्धी ठानि रहेको पनि पाईन्छ । हरेक सकारात्म पक्षसँगै नकारात्मक पक्ष पनि सँगै आउदछ भने झै बढ्दो राजनैतिक हस्तक्षेप र ढाकछोपको अवस्थामा वृद्धि भएको कारण जनतामा धैर्यता र अनुसाशनमा कमी आएको हो की ? भन्ने प्रश्न चिन्ह भने पक्कै खडा गरेको देखिन्छ । पछिल्लो समय विभिन्न निकाय र तहमा कार्यरत कर्मचारीहरु एकातिर जनप्रतिनिधि र अर्कोतर्फ जनताको असन्तुष्टि, आर्कोस बिचको चेपुवामा परेको देखिन्छ । यसमा सुधार हुने सम्भावना पनि तत्काल देखिदैन । देश प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतान्त्रिक साशन व्यवस्थामा प्रवेश गरेको पाईन्छ । जनताको सुविधाको नाममा तीन तहका सरकारको व्यवस्था गरियो । सिहंदरबारको अधिकार गाउँ गाउँमा भन्ने परिकल्पनालाई साकार पार्ने प्रयास गरियो तर साशन व्यवस्थाको अभ्यास गरिएको करिव ५ वर्ष वित्न लाग्दै गर्दा जनतामा भने असन्तुष्टि बढ्दै गइरहेको पाईन्छ तर यसको मारमा कर्मचारी प्रसाशन परिरहेको देखिन्छ । स्थानीय तहहरु भष्ट्राचारको अखडा बने भन्ने समाचार पनि सञ्चार माध्यममा छाँयको सुनिन्छ । केहि सिमित वर्गले स्थानीय स्रोत र साधन माथि ब्रमालुट गरेको सुन्नमा आउदछ । आफ्नै हात जगन्नाथ भन्ने भनाईले मुर्त रुप लिइरहेको हो की भन्ने कुरा जनताको मनमा खेलेको पाईन्छ । राज्यको स्थायी सरकार मानिने कर्मचारीतन्त्र माथि दुव्र्यवहार गर्ने, हातपात गर्ने प्रवृत्ति दिनप्रती दिन बढ्दै गइरहेका समाचारहरु सुनिन थालेको छ ।

कतै भागवण्डा नमिलेर, कतै जनप्रतिनिधिबाट आफू अनुकुल काम गर्न नमान्दा त कतै जनताबाट कर्मचारी प्रसाशन माथि हातपात र अमानवीय कार्य भै रहेको देखिन्छ । आफू अनुकुल भएन भने कानूनलाई हातमा लिने प्रवृत्ति दिनप्रतीदिन बढ्दै गइरहेको देखिन्छ । जनताले साशन सञ्चालन गरेको साशन व्यवस्थामा यो राम्रो पक्ष भने पक्कै होइन । यसलाई बेलैमा आवश्यक व्यवस्थापन गरिएन भने युद्धमा खटाईएका सेनाको जस्तै हुने देखिन्छ विभिन्न तह र क्षेत्रमा खटाईएका कर्मचारीहरुको अवस्था । नेपालको कर्मचारीतन्त्र आलोचना र विवादबाट मुक्त हुन भने सकेको देखिदैन । झिंगे सोच बाट माथि उढ्न नसकेको आरोप पनि खेपी रहेको देखिन्छ । यसका साथै जिम्मेवारी पन्छाउने, आफू भन्दा माथिकालाई चाकडी गर्ने तर आफू भन्दा तल्लो पदका कर्मचारीको राम्रो सल्लाह पनि नसुन्ने, हजुरीमा रमाउने, प्रक्रियामूखी, परम्परावादी, पेपर वर्कमा अल्झिने, निँहु खोजी रहने, नातावाद, कृपावाद, पाहुरमा रमाउने, कमिशनमा रमाउने, राजनितिक पहुँच नभएकाले सहज काम लिन नसक्ने, विना कारण दुःख दिने र घुसखोरीलाई प्रोत्साहन गर्ने केहि कर्मचारीतन्त्रका आलोचित पक्षहरु हुन । यस आलोचित पक्षबाट मुक्त हुनका लागि आफ्नो बानी व्यवहारमा सुधार गरी सबै कर्मचारी लाग्नु पर्ने देखिन्छ । एउटा कार्यालय र केहि कर्मचारीमा सुधार देखिएर मात्र सिग्गो कर्मचारीतन्त्रमा सुधार नदेखिने भएकाले यसका लागि माथिबाट तलसम्म सफाईको कार्यक्रम सञ्चालन गर्नु पर्ने देखिन्छ । सबै कर्मचारी र सबै कार्यालयलाई एउटै बास्केट भित्र राखेर आलोचना र दुव्र्यवहार गर्नु हुँदैन । राम्रो कार्यसम्पादन गरेका इमान्दार कर्मचारीलाई पहिचान गरी आवश्यक प्रोत्साहन, पुरस्कार, तलवभत्तामा विशेष वृद्धि, वृत्ती विकासको विशेष व्यवस्था गर्नु पर्ने देखिन्छ भने घुस्या, कामचोर कर्मचारीको पहिचान गरी आवश्यक अनुसन्धान र कारवाही गर्ने स्वचालीत प्रणालीको विकास गर्न सक्ने हो भने यस्ता बेथितिको अन्त्य गर्न सकिने प्रसस्त सम्भावना भने जिवितै देखिन्छ ।

नेपालको सन्दर्भमा कर्मचारीतन्त्र शक्तिशाली प्रणालीको रुपमा विकास भएको पाईन्छ । भन्ने गरिन्छ कर्मचारीको राम्रो साथ पाएन भने सरकारनै परिवर्तन हुन छ रे ? सरकारको सफलता असफलता कर्मचारीको कार्यशैलीमा निर्भर रहने गर्दछ । राणाकालदेखि हालसम्म कर्मचारीतन्त्रले शासन र मान दुवै पाएको छ । राजनैतिक दलले साशन सञ्चालन गर्न नसकेको बेला काध थापेर गन्तव्यमा पुर्‍याएको इतिहास पनि यसले बोकेको छ । केहि कर्मचारीको गलत नियतका कारण सम्पूर्ण कर्मचारी प्रसाशनलाई विवादित बनाउनु हुँदैन भने कर्मचारीतन्त्र पनि समय अनुसार आफूलाई पविर्तन गरी जनताको सेवामा निरन्तर लागि रहनुपर्ने देखिन्छ । कर्मचारीतन्त्र विकास र समृद्धिको आधारस्तम्भ हो । सरकार परिवर्तन भै रहन्छ, व्यवस्था परिवर्तन भैरहन्छ जुनसुकै परिस्थितिमा पनि जनताको सेवामा यो प्रणाली लागिरहेको देखिन्छ । फेरि पनि तीनै सरकारी कर्मचारीबाट काम लिनुपर्ने भएकाले आक्रोसमा आएर हैन आवश्यक ऐन, नियम र विधिको प्रयोग गरेर कुनै कर्मचारीमा रहेको स्वच्छाचारी स्वभावको अन्त्य गर्नु पर्ने देखिन्छ भने कर्मचारीतन्त्रले पनि जनताबाट संकलन भएको करबाट हामीले सेवा सुविधा लिएका छौ भन्ने मनस्थिति बसाली आफ्नो कर्तव्यको पालना गर्नु पर्ने देखिन्छ । सुशासन र विधिको साशन स्थापित गर्न आफुनो कर्तव्य सम्झी आ–आफ्नो ठाउँबाट लाग्ने की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update