Shittalpati
राजनीतिमा युवा शक्ति

लामो समय बूढापाका पुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा अहिले भने युवाको उपस्थिति बाक्लिदै गएको छ । नेपालका दुई प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेको महाधिवेशनको तयारी भइरहेका बेला तल्लो तहदेखि अधिकांस युवाहरु नेतृत्वमा आइरहेका छन् । नेपाली राजनीतिमा युवाहरूको चासोले नेतृत्वमा लामो समयसम्म एउटै पुस्ता मात्र हैन पात्र पनि उही रहेको वर्तमान अवस्थामा परिवर्तन हुने संकेत देखिएको छ । यो आफैमा सकारात्मक हो । यसो हुन जरुरी छ ।

अब नेपाली राजनीतिमा नयाँ सोंच, चिन्तन हुन अपरिहार्य भएको छ । राजनीतिमा युवापुस्ता स्थापित भएन भने समाज विकासको गति अवरुद्ध हुन्छ । देशको ऊर्जाशील पंक्तिका ज्वलन्त मुद्दा ओझेलमा पर्छन् । देश विकासको मूल स्रोत नै खेर जान्छ । समाजको सबैभन्दा गतिशील पुस्ता नै युवा हो । उसको सहभागिताविना देशको जीवन मेरुदण्डविनाको मानव शरीरजस्तै हो । यसर्थ, जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगटेको पुस्तालाई नजरअन्दाज गर्नु वा जे गरे पनि हुन्छ भन्नु देशको सामथ्र्यलाई नबुझ्नु हो । सामथ्र्यलाई नचिन्ने गम्भीर भूल नेतृत्वकर्ताले गर्नुहुँदैन । जसरी हिजो जीवन जोखिममा राखेर परिवर्तनको जग युवाले नै हाले, त्यसैगरी अब समृद्धिको युगमा उनीहरूको सक्रिय सहभागिता झनै टड्कारो बनेको छ । समृद्धि जसका लागि हो उसको सहभागिताविना सकारात्मक नतिजा आउनै सक्दैन । यसर्थ, आन्दोलन, युद्ध र संघर्षका मोडहरूमा विगतमा जसरी युवाले अग्रमोर्चा समाले त्यसैगरी समृद्धिको मार्ग कोर्न उनीहरू नै अघि सर्नुपर्छ । अहिले जसरी युवा शक्ति राजनीतिमा आएको छ, यसलाई राम्रो मान्नुपर्छ । वडा र पालिका अधिवेशन गरिसकेको एमाले र काँग्रेसभित्र अधिकांश वडामा नयाँ अनुहार त्यसमा पनि युवा समूह नेतृत्वमा आएकाले माथिल्लो तहमा पनि युवा पुस्ता स्थापित गर्न सहयोग पुग्ने देखिन्छ । नेपालमा लामो इतिहास बोकेको सत्तासीन दल नेपाली काँग्रेस र राष्ट्रिय राजनीतिमा सधैं केन्द्रमा रहेको एमालेभित्र युवाको आकर्षण हुनुले अबको केही वर्षभित्र नेपालको राष्ट्रिय राजनीति युवापुस्तामा जाने आशा पलाएको छ  ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update