पछिल्लो समय विश्वमा मानसिक समस्या भएका विरामीहरु बढ्दै गएका छन् । अहिले यो एउटा ठूलो चुनौतीको रुपमा देखा परेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट पीडित छन् । नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ ।
विश्वभरीमा मानसिक रोगीहरु मध्ये करिब २२ करोडले उपचारबाट बञ्चित हुनु परेको छ । नेपाल जस्तो विकासोन्मूख देशमा भने ५ जना रोगीमा ४ जनाले त उपचारै पाउँदैनन् । मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै आइरहेको छ । आज पनि विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा यो दिवस मनाउन थालिएको छ । तर नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र ओझेलमा परेको छ । मानसिक रोगीलाई अपहेलना गर्ने, उपचार नगराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट बञ्चित गराउने, भूत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता व्यवहार गरेको पाइन्छ । यसले रोगीको आधारभूत मानव अधिकारमासमेत ठूलो उपहास भई रहेको छ । अझै पनि हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाई, धारणा, सोच सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ । मानसिक स्वास्थ्य जनचेतनाको कमी, लाञ्छना र विभेदको कारण सीमान्तकृत र हेयको विषय बनेको छ । यो सामाजिक बहिष्कार र कलङ्कसँग जोडिएको विषय हो, जसले मानव अधिकारका आधारभूत भनाइजस्तै स्वास्थ्यप्रतिको अधिकार, आत्मसम्मानको अधिकार र सामाजिक कार्यमा हुने सहभागिताको अधिकारलाई समेत मिचेको अवस्था छ । शारीरिक स्वास्थतासंँगै मानसिक स्वास्थ्यलाई हेरिने, गरिने, बुझिने दृष्टिकोणमा भेदभाव हुनुहुँदैन । मानसिक स्वास्थ्य समस्यालाई लुकाउने, भन्न र उपचारको खोजी गर्न डराउने, अप्ठारो मान्ने गरेको पाइन्छ । यसो गर्नु हुँदैन । समस्या लुकायौं भने यसले झन ठूलो जटिल समस्या निम्त्याउन सक्छ । यसर्थ मानसिक स्वास्थ्य समस्या भएमा तत्काल परिवार, आफन्तलाई भनि उपचारको विधि अपनाउनुपर्दछ ।