आज विश्व शिक्षा दिवस हो । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन निरन्तर विश्व शिक्षक दिवस मनाइँदै आइएको छ । कुनै पनि दिवस सम्बन्धित विषयवस्तुको सन्दर्भमा भएको कुनै महत्वपूर्ण कार्य वा घटनाको स्मरणार्थ मनाउने गरिन्छ ।
आजको दिन संसारभर विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । यो आफैमा राम्रो हो । ज्ञानको ज्योति झर्ने, विश्वमा दक्ष, असल जनशक्ति उत्पादन गर्ने शिक्षकलाई सधै सम्मान गर्नुपर्दछ । तर पछिल्लो समय शिक्षकको योगदान, भूमिका र महत्वलाई बिर्सन वा ओझेलमा पार्न थालिएको छ । यसो हुनु दुखद् हो । शिक्षकले पाउनुपर्ने जति कदर पाएका छैनन् । शिक्षकको कदर गर्ने संस्कृति कसरी विकास गर्ने भन्ने विषय अहिले टड्कारो बनेको छ । नेपालको सन्दर्भमा पचाँसको दशकसम्म जति शिक्षकको सर्वत्र कदर हुन्थो, त्यो क्रमसः घट्दै गएको छ । यसो हुनुमा शिक्षकको कमजोरीले सबै शिक्षकलाई एउटै डालोमा राख्न पनि जरुरी छैन । यसमा मूलत: आधुनिकताको आडमा समाजमा फैलिँदै गरेको आडम्बर नै मूख्य दोषी हो । नैतिक आचरण र शिक्षा ग्रहणमा कमी हुँदै गएको छ । यसमा सुधार ल्याउनै पर्दछ ।
शिक्षकले त राम्रो शिक्षा दिएर आफ्नो कर्तव्य पूरा गर्छ, शिक्षकप्रति विद्यार्थी र समाजको दायित्व हुनुपर्छ । वास्तवमा शिक्षकहरु राष्ट्रको भावी पुस्ताहरुको वैचारिक शिल्पको शिल्पकारहरु हुन् । आफ्नो ज्ञान, सीपको माध्यमले तटस्थ र स्वतन्त्ररुपमा आफ्ना विद्यार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुले नै मानिसलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका छन् । जीवनलाई सहजढंगले परिवर्तन गराउन महत्वपूर्ण भूमिका खेल्ने शिक्षकहरुको सेवा सुविधा, मान पदवी, उत्तरदायित्व र जिम्मेवारीहरु थप गरेर उनीहरुलाई थप उर्जामय बनाउन आवश्यक छ । यसो गर्न सके मात्र विश्व शिक्षक दिवस मनाउनुको सार्थकता रहन सक्छ ।