Shittalpati
विश्व पशु दिवसको सार्थकता

आज अक्टोबर ४ तारिक विश्व पशु पंक्षि दिवस हो । यो दिवस सन् १९३१ देखि मनाइदै आए पनि नेपालमा सन् २००८ बाट मनाउन थालिएको पाइन्छ । विभिन्न संघ सस्थाको आयोजनामा विविध कार्यक्रमहरुको साथ यो दिवस मनाउने गरेको पाइन्छ । विविध पशु पंक्षि भएको तथा पशु पंक्षिको पूजा गर्ने हाम्रो परम्परामा यस दिवसको छुट्टै महत्व रहेको छ । पशु पंक्षि र मानवबीचको घनिष्ठ सम्बन्ध अनाधिकालदेखि रहँदै आएको छ । नेपालमा पशु पंक्षि हित, वन्यजन्तु संरक्षण, अमानवीय रुपमा पशु बध, पीडादायी रुपमा पशु ढुवानी जस्ता पक्षमा कानुनी प्रबन्ध गरिएको पाइन्छ ।

वन्यजन्तु आरक्ष तथा निकुञ्जको स्थापना र संरक्षण गर्ने कार्य पनि भएको छ । विश्व बाघ दिवस मनाउनेदेखि विशेष वन्यजन्तु गणना गर्ने काम पनि भएको छ । आर्थिक, पर्यटकीय, परावरणीय, धार्मिक वैज्ञानिक जेसुकै कारणले भए पनि पशु पंक्षिको संरक्षणमा विश्व लागेको देखिन्छ । यस दिवसको अवसरमा हाम्रो धर्म संस्कृति परम्परा र प्रचलनमा बलि प्रथा र यसमा रहेको भ्रमलाई चिर्ने यस दिवसको मुख्य उद्देश्य रहेको छ । यो आफैमा सकारात्मक छ । पशुपंक्षी सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा पाइने र घरपालुवा जीव जन्तुहरु हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् । चाडपर्वका बेला होस् वा अन्य समयमा पशुपंक्षीहरुको आफ्नै महत्व रहेको हुन्छ । यिनीहरुको महत्व आफैमा विशिष्ट छ । कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाडहरुले त जनावरको विश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषित गरिदिएको छ । पशु दिवसमा जनावरसँगको मानविय दायित्व र सम्बन्धलाई अन्र्तनिर्भरतासँग व्याख्या गरिन्छ । सनातन समाज मात्र विश्वमा यस्तो समुदाय हो जहाँ जनावरहरुलाई भगवानको स्थान दिइएको छ । भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् । विश्वका विभिन्न देशहरुले विभिन्न तरिकाबाट यो दिवस मनाउदै आइरहेका छन् जसमा धर्म, विश्वास वा राजनितिक विचारधाराहरु पनि पर्दछन । यो दिवस विभिन्न स्कुल, संघ संस्था, संगठित समूह, क्लव र व्यक्तिहरु जो पशुसँग सम्बन्धित छन् उनीहरुले विशेष तरिकाबाट मनाउदै आएका छन् । जनावर प्रति गरिने क्रुर व्यवहारलाई समाप्त पारी पशु सम्बन्धी कल्याणकारी कामलाई बढवा दिने र पशुको सुधारात्मक स्थितिलाई बढाई सबै प्राणीको संरक्षण गर्न, पशुबलिको बर्वरता हटाउन सके मात्र यो दिवसले सार्थकता पाउन सक्छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update