Shittalpati
अहिंसा दिवसको सार्थकता

आज अक्टोबर २, विश्व अहिंसा दिवस हो । संयुक्त राष्ट्रसंघले अक्टोबर २ लाई अहिंसा दिवसका रुपमा घोषणा गरेको छ । सत्यलाई, अहिंसा र शान्तिको मार्गबाट प्राप्त गर्न सकिन्छ भन्ने मोहनदास करमचन्द गान्धीको दृढ विश्वास र त्यसैबाट भारतले स्वतन्त्रता प्राप्त गरेको हुनाले अन्तर्राष्ट्रिय समुदायले पनि गान्धीविचारको सम्मान गर्न अहिंसा दिवस घोषणा गरेको हो । नेपालले पनि हरेक वर्षको अक्टोबर २ का दिन यो दिवस मनाउने गरेको छ । विश्वमा हिंसाका घटनाहरू बढ्दै जान थालेपछि हिंसालाई रोक्ने अभिप्रायसहित यो दिवस मनाउन थालिएको हो ।

समाजमा हिंसाका अनेक स्वरूप हुने गरेका छन् । समाज जति खुल्ला र विकसित हुँदै गएको छ, हिंसाका रूप त्यसैगरी बदलिएका छन् । विगतमा शारीरिक रूपमा सीमित हुने गरेको हिंसा प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र मोबाइलबाट समेत हिंसाका रूप प्रकट हुने गरेका छन् । बम, बारुद, बन्दुक, ट्यांक, समृद्धि सबैको शक्तिलाई सत्यका पक्षमा गरिएको अहिंसात्मक र शान्तिपूर्ण उपायबाट परास्त गर्न सकिन्छ भन्ने तथ्यलाई गान्धी विचारले प्रमाणित गरेको छ । यही तथ्यका आधारमा कुनै पनि भूगोलमा कहिल्यै घाम नअस्ताउने साम्राज्य बनाएको शक्तिशाली बेलायतलाई नांगो खुट्टा, यौटा लौरो र छोटो अंग वस्त्रधारी एक व्यक्तिले पराजित गरेको कथा अहिले सुन्दा निक्कै आश्चर्यजनक लाग्दछ तर सत्य हो । शान्तिको विकल्प हुँदैन र हिंसाको भविष्य हुँदैन । मानवता कहिल्यै पराजित हुँदैन र शासकीय शक्ति स्थायी हुँदैन । सबै अरू वस्तु मरणशील छन् तर सत्य अमर अजर छ । वास्तवमा अहिलेको अवस्थामा अहिंसाको विषय जटिल बन्न गएको छ । मानवी हिंसा मात्रै नभएर पशुपंक्षी समेतको हिंसाका सन्दर्भमा हेर्दा अहिंसाको व्याख्या गर्न पक्कै पनि कठिन छ । अहिंसा भनेको हिंसाको अभावको अवस्था मात्र हो, हिंसाको अन्त्य होइन । संयुक्त राष्ट्रसंघद्वारा प्रर्वद्धित अहिंसा भनेको हिंसा नहुुनु भन्ने हो । हिंसारहित समाज हुनु भनेकै अहिंसा हो । हरेक समाज हिंसारहित बनाउन सबै नागरिकले भूमिका खेल्नु पर्दछ । हिंसा हुनबाट जोगाउन र त्यस प्रकारको वातावरण सिर्जना गर्न राज्यले भूमिका खेल्नु पर्दछ । तर त्यसो हुन सकिरहेको छैन । अहिंसा, शान्ति, सद्भाव र समुदायका बीच सद्भाव र सामाजिक न्यायसहित स्वतन्त्रताको मूल्यबोध हुनसके मात्र अहिंसा दिवसको सार्थकता हुने छ ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update