पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । विगत दुई वर्षदेखि विश्वव्यापी कोरोनाको कहरका कारण यो व्यवसाय तहसनहस भएको छ । अहिले पर्यटन व्यवसायलाई पुरानै गतिमा फर्काउनु अहिलेको चुनौती हो । विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइदै आइएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । पर्यटन दिवस जनचेतना अभिवृद्धि गर्ने पर्यटन क्षेत्रका लागि ठूलो पर्व भए पनि यसलाई ‘इभेन्ट’ का रुपमा लैजान नसक्दा प्रभावकारी हुन सकेको छैन । आज पनि विश्वभर यो दिवस मनाइदै छ । कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न यो दिवस कोसेढुङ्गा सावित हुन जरुरी छ । हुन त विगतका दिवस औपचारिकतामा मात्र सिमित बन्न पुगेका छन् । यस वर्ष पनि त्यस्तो नहोला भन्न सकिदैन । तर यसो हुनु हुँदैन ।
नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृंखलाहरू, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत शान्तिप्रिय बुद्धभूमिका शालीन हामी नेपालीहरू नै नेपालको गहना हो । कोभिडले यस व्यसवायका हरेक पाटाहरू नराम्रोसँग थलिएका छन् । मूलतः एक देशबाट अर्को देशमा प्राकृतिक दृश्य अवलोकन गर्ने, व्यापारी, धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक विभिन्न किसिमको उद्देश्यले भ्रमण गर्ने व्यक्ति नै पर्यटक हो । हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र विश्वका हरेक देशबाट नेपालमा पर्यटनको घुइरो लाग्ने गर्दछ । यी विविध कारणहरूले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतको रूपमा रहेको छ । देशको बाह्य विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आजको प्रमुख स्रोतको रूपमा रहेको थियो । तर हिजो आज त्यो स्रोत संकटमा परेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको भए पनि त्यसले सार्थकता पाउन भने सकेको छैनन् । हुन त कोरोना माहारीका कारण पर्यटन क्षेत्र अत्यन्त प्रभावित भएको छ । यसो भन्दैमा पर्यटन दिवसको औचित्य र महत्वलाई भने विर्सन हुँदैन । कोरोनाले थिलो–थिलो पारेको पर्यटन व्यवसायीलाई अझ सशक्त ढंगले अगाडि बढाउने अवसरको रुपमा दिवसलाई लिनुपर्दछ । पर्यटन दिवस मनाइरहँदा कम्तिमा प्रदेश सरकारले कोरोनाका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको समस्या र चुनौतिबारे गम्भीरतापूर्वक छलफल गर्ने तथा विगतका कमीकमजोरीलाई दोहोरिन नदिनेतर्फ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना बनाउनतर्फ उत्तिकै सजगता अपनाउनु जरुरी छ । यसो गर्न सके मात्र दिवस मनाइनुको सार्थकता रहन सक्छ ।