Shittalpati
सवारी भाडामा मनपरी रोकौँ

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका सवारी साधनहरु अहिले सञ्चालनमा आएका छन् । संक्रमणको अवस्था कम हुँदै गएपछि सरकारले नीजि र सार्वजनिक गाडीहरु सञ्चालन गर्न अनुमति दिएसँगै भाडामा मन परी भएको व्यापक गुनासाहरु आइरहेका छन् । तेलको मूल्य बढेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा लिने गरेका छन् । भाडा दरमा एकरुपता नहुँदा यात्रुहरुले अन्यावश्यक भाडा तिरेर यात्रा गर्न बाध्यता छन् । सार्वजनिक यातायातले सरकारले तोकेभन्दा बढी भाडा लिनु दुखद् हो । यो सरासर कानुनको खिल्ली उडाएको ठहर हुन्छ ।

महामारीका बेला जोखिम उठाएर सेवा प्रदान गर्नु राम्रो काम हो, तर जोखिम उठाएर सेवा दिइएको छ भन्दैमा मनपरी भाडा असुल्नु चाहि गलत हो । संकटका बेला बढी पैसा लिएर सेवा दिने काम ठगी हो । सरकारले यस्तो ठगी कार्यमा संलग्नलाई कारवाही गर्नै पर्छ । सरकारले भाडा दर कायम गरे पनि त्यसको यातायात व्यवसायीले भने कार्यान्वयन गरेका छैनन् । यातायात व्यवसायीले मन लाग्दी भाडा उठाएर यात्रुलाई सास्ती दिने काम गलत हो । यसमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ । सवारी सञ्चालनमा अनुमति दिए पनि त्यसको अनुगमन र नियमन हुन सकेको छैन् । जसले गर्दा यातायात व्यवसायीहरुले आफु खुसी भाँडा लिने गरेका हुन् । उनीहरुले यसो गर्नु हुँदैनथ्यो । व्यवसायीहरुले पनि आफ्नो व्यवसायको मर्यादा र कानुनको ख्याल गर्नुपर्छ । यसमा यात्रुहरु आफै पनि सचेत हुन आवश्यक छ । भाडा जति मागे पनि दिनु हुँदैन । सरकारले तोकेको भन्दा बढी भाडा दिने विषयमा यात्रुले पनि सोच्नुपर्दछ । यस विषमयमा यात्रु सचेत भएर सरकारले तोकेभन्दा बढी भाडा नदिने काममा अडिग रहनु पर्छ । नियम विपरीत काम गर्नेहरु दण्डित हुनै पर्छ । सेवा दिनेले सरकारी नियम अवज्ञा गर्न मिल्दैन । यसर्थ सार्वजनिक सवारी भाडामा देखिएको मनपरी रोक्न जरुरी छ  ।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update