काठमाडौं (एजेन्सी) । नेपाल एसिया कप होडबाट बाहिररिएको छ । एसिया एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपाल एक खेल खेल्नुअघि नै एसिया कपको होडबाट बाहिरिएको हो । सिंगापुरले लगातार तेस्रो जित हात पार्दै शीर्ष दुईमा स्थान सुरक्षित गरिसकेको छ । सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । जवाफमा हङकङले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन बनायो ।
नेपालले अब अन्तिम खेलमा सिंगापुरलाई हराएपनि शीर्ष दुईमा पुग्ने छैन । किनकी हङकङ र मलेसियाबीच हुने खेलको विजेता शीर्ष दुईमा पुग्नेछ । ३ खेलबाट अपराजित सिंगापुर ६ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको समान ४ अंक छ । दुवैले ३ खेल खेल्दा २ मा जित र १ मा हारको नतिजा निकालेका थिए । ३ खेलमा १ खेल मात्र जितेको नेपाल २ अंकसहित चौथो स्थानमा छ । लगातार चारै खेल हारिसकको घरेलु टोली थाइल्याण्ड अंकविहिन हुँदै प्रतियोगिता टुङ्याइसकेको छ ।
इस्टर्न रिजनको शीर्ष दुईमा रहने टिम मात्र एसिया कप क्वालिफायरमा पुग्नेछ । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल सुरुवाती दुई हारपछि नै शीर्ष दुईको होडबाट टाढिएको थियो ।नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो ।