पाल्पा, यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । मलेसियामा भइरहेको प्रतियोगिताको शनिबार भएको फाइनलमा नेपालले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै नेपाल लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दिएको ३१४ रनको बलियो लक्ष्य पछाएको युएई ४९.१ ओभरमा २६९ रन बनाउँदै अल आउट भएको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । युएईका लागि राहुल चोपडाले सर्वाधिक १०० रनको शतकीय पारीसहित अविजित रहे । उनले १०५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । उनको शतक युएईका लागि जित दिलाउन भने काफी रहेन । ओपनर ब्याटर तानीश सुरीले ४२ रन बनाउँदा कप्तान हरप्रित सिंहले ३३ रन बनाए । सोहीब खानले ५२ रन बनाउँदा खुजाइमा बिन तानभिरले १५ रन बनाएर क्याचआउट भए । नेपालका लागि बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशीले २ लिँदा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी रोहित पौडेल,गुल्सन झा र वसिर अहमदले १/१ विकेट लिए । त्यस अघि,पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा ८ चौका र ४ छक्का सहित १०२ रन बनाए । पहिलो विकेटका लागि अर्का ओपनर अर्जुन कुमालसँग उनले ९७ रनको साझेदारी बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । अर्जुन कुमाल ४३ रन बनाउँदै रन आउट भए । वान डाउनमा आएका इशान पाण्डेले १३ रन बनाउँदा रोहित कुमार पौडेलले ४० रन बनाएका हुन् ।
गुल्सन झाले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले । ऐरीले १८ रन बनाउँदा सन्दिप जोरा र करण केसी भने सस्तैमा पेभेलियन फर्किए । कप्तान लामिछाने डकआउट हुँदा,वसिर अहमद १५ र ललित राजवंशी १ रनमा अविजित रहेका थिए । युएईका लागि बलिङतर्फ,इब्रार अहमदले सर्वाधिक ४ विकेट लिए । खुजाइमा बिन तान्भिरले २ विकेट लिँदा हैदर अलि र अदिब उस्मानीले १–१ विकेट लिए। नेपालले प्रतियोगिताको समूह चरणमा चार खेल खेल्दा तीन जित निकालेको थियो । बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको नेपाल हङकङसँग भने पराजित भएको थियो । तीन जितसहित समूह विजेताको रुपमा नेपाल सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेपालले सन् २०२३ मा पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो । घरेलु मैदानमा युएईलाई नै ७ विकेटले पराजित गर्दै नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो ।


