काठमाण्डौ, तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर प्रतियोगिताको पुरस्कार रकम घोषणा गरेको हो ।
गएको संस्करणको विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यस्तै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पनि १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
क्यानका अनुसार उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख रु चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।एनपीएल भोलिदेखि कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुँदैछ । आउँदो मङ्सिर ५ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।तेस्रो संस्करणको एनपीएलमा पहिलो पटक ‘डीआरएस’ प्रयोग हुँदैछ । यस्तै एनपीएलका सबै खेललाई आईसीसीले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता दिएको छ ।


