पाल्पा, लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको छ । मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो । साउदी अरेबियाले दिएको १९१ रनको विजयी लक्ष्य पछाएको नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाउँदै १९३ रन सहित लक्ष्य पूरा गरेको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४४ रनको अविजित पारी खेले । उनले ३५ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे । ओपनरद्वय अर्जुन कुमार र आसिफ शेखले क्रमशस् १५ र २० रन बनाउँदा देव खनालले ३९ रन र ईशान पाण्डेले ४० रन बनाए ।
रोहित कुमार पौडेल २४ रनमा अविजित रहे । साउदी अरबियाको लागि बलिङतर्फ इस्तिक अहमद र मोहम्मद अब्दुल्लाह अतिफले २–२ विकेट लिए । मोहम्मद हिसम शेखले १ विकेट लिए । त्यसअघि, ब्याटिङ गरेको साउदी अरेबियाका लागि ओपनर ब्याटर अब्दुल बाहिदले सर्वाधिक ७७ रन बनाए । उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे । मोहम्मद आतिफले ३० रन र मोहम्मद हिसम शेखले २८ रन बनाए । जैन अबिदिनले १२ रन, मोहम्मद सकिबले १४ तथा इस्तिक अहमद १० रनमा अविजित रहे । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालको लागि बलिङ तर्फ सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३–३ विकेट लिए । ललित राजवंशीले २ विकेट लिँदा शेर मल्ल र गुल्सन झाले१–१ विकेट लिए । नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो भने र दोस्रो खेलमा मलेसिया विरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।
नेपालले पहिलो दुई खेलमा क्रमशः बहराइनलाई ७ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । साउदी अरेबियाले चौथो खेलमा तेस्रो पराजय भोग्दै प्रतियोगिताको यात्रा टुंग्याएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेलपछि समूहविजेताको टुङ्गो लाग्नेछ ।


