Shittalpati
ओजोन तह संरक्षणमा जुटौं

विभिन्न कारणले ओजोन ग्याँसको प्राकृतिक तह पातलो हुँदै जानु अथवा त्यस तहमा प्वाल पर्नुलाई ओजोन तह विनाश भनिन्छ । ओजोन तह विनाशको मुख्य कारण मानव नै हो । उद्योग कलकारखाना, यातायातका साधन र हामीले नै प्रयोग गर्ने रफ्रिजेरेटर तथा एयर कण्डिसनरबाट ओजोन तह विनाशक रसायनहरु वायु मण्डलमा उत्सर्जित हुन्छन् । पछिल्लो समय ओजोन तह विना हुँदै जाँदा विश्व समुदाय चिन्तित बनेको छ । ओजोन तहको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष १६ सेप्टेम्बरमा विश्व ओजोन तह बचाउ दिवस मनाउने गरिन्छ । आज पनि विश्व समुदायले यो दिवस मनाउदै छ । यस दिन विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइन्छ । तर, नेपालमा यस वर्ष कोभिड–१९ को महामारीका कारण भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरिदै छ । हरेक वर्ष दिवस मनाइए पनि ओजोन तह संरक्षणमा भने खासै ध्यान दिइएको पाइदैन ।

ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित छ । जलवायु परिवर्तनका कारण कोभिड–१९ को महामारीले भन्दा धेरै ठूलो संकट निम्त्याउनेतर्फ यस क्षेत्रको अध्ययन अनुसन्धानमा लागेका वैज्ञानिकहरूले चिन्ता प्रकट गरिरहेका छन् । यो स्वाभाविक नै हो । पृथ्वीमा कार्बनको मात्रा बढ्दै गएको छ भने ओजोनको तह पातलिँदै गएको छ । जसले गर्दा खतराको अवस्था सिर्जना हुने तर्फ वैज्ञानिकहरुले चिन्ता प्रकट गर्नुलाई अन्यथा लिनु हुँदैन । जलवायु परिवर्तनका कारण आज सिंगो पृथ्वी जुन अवस्थामा छ, अन्तिम समयसम्म पनि त्यस्तै नरहला भन्न सकिदैन । त्यसैले यसतर्फ समयमै सबैले सोच्नुपर्दछ । क्लोरोफ्लोरो कार्वन, मिथाइल, ब्रोमाइड, कार्वन टेट्रोक्लोराइड जस्ता क्लोरिन, ब्रोमिन तथा अक्साइड रेडिकल भएका झण्डै ९४ वटा रसायनहरु ओजोन तह विनाशका लागि जिम्मेवार छन् । ओजोन तह संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा विश्व समुदायमा चेतना जगाउनु नै हो । वातावरणीय प्रदुषण नियन्त्रणका लागि उद्योग तथा यातायात सञ्चालन र त्यसमा प्रयोग हुने प्रविधि सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण कार्य त क्लोरोफ्लोरो कार्वन उत्पादन बन्द गर्नु अथवा यसको प्रयोग गर्न निरुत्साहित गर्नु नै उत्तम हुन्छ । क्लोरोफ्लोरो कार्वनको सट्टा हाइड्रोफ्लोरो कार्वनको प्रयोगलाई व्यापकता दिनुको साथै प्लाष्टिकको प्रयोगलाई सिमित बनाउन सके केही हदसम्म ओजोन तहको संरक्षण गर्न सकिन्छ । ओजोन तहको सुरक्षामा हामी सबैको अस्तित्व लुकेको छ । ओजोन तहको रक्षा गर्नु हामी सबैको कर्तव्य पनि हो । यसर्थ समग्र प्राणी जगतको रक्षा गर्न र सुरक्षित र स्वस्थ विश्वको निर्माण गर्न ओजोन तहको संरक्षणमा भिष्मप्रतिज्ञाका साथ लाग्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update