नेपाली नारीको महान् चाड तिजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको छ । तिज नेपाली महिलाहरूको महान पर्व हो । धार्मिक र सांस्कृतिक रूपमा धेरै धनी नेपालीहरुले आदीकालदेखि नै मनाउँदै आएको यो पर्वको पौराणिक गाथा शिव र पार्वतीसँग गाँसिएको छ । परापूर्वकालमा हिमालय पर्वतकी छोरी पार्वतीले शिवजी पति पाउँ भनि सय वर्षसम्म तपस्या गर्दा पनि आफूले तपस्याको फल नपाएर एकदिन शिवलिङ्ग स्थापना गरी निराहार व्रत बसेको कारण शिवजी प्रसन्न भई चिताएको कुरा पुगोस् भनी बरदान दिएका थिए भन्ने पौराणिक किंवदन्ती छ ।
पार्वतीले बरदान पाएको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । यसै खुसीयालीमा आजसम्म पनि सम्झेर खुसीयालीका साथ नेपाली विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाहरुले सुयोग्य वरको प्राप्तिको आशा राखी तिजको व्रत बस्छन् । पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो पतिको घरमा बसी पुरै जीवन बिताउनु पर्ने हुन्छ । एउटी महिलाले आफू जन्मिएको भूमि आमाबाबु, भाइबहिनी, इष्ट्मित्र र आफू जन्मेको घर नै छोडी विवाह गरेर पठाइएको घरमा जीवन गुजार्ने क्रममा आफ्नो जन्मघरको सम्झनालाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तिजलाई लिने गरिन्छ । हिजोको तिजको मौलिकता आज सूचना र प्रविधिको विकासले गर्दा परिवर्तित अवस्थामा पुगेको छ । तिजको मौलिकता विगत भन्दा अलि फरक बन्दै गएको देखिन्छ । महिलाहरूको पर्वमा पुरुषको सहभागिता, एक महिना अघिदेखि नै पार्टी प्यालेसहरुमा दरखाने कार्यक्रम हुनु, तिजकै लागि भनेर महङ्गो गरगहना पहिरन किन्ने चलनले निम्न वर्गीय समाजमा नराम्रो असर पारेको छ । यस्ता तडकभडकले गर्दा तिज पर्व गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो, मेलापात गर्ने नारीको मौलिक तिज ओझेलमा परेको देखिन्छ । गाइजात्रे पारामा पुरुषहरुले साडी चोली लगाउने महिलाहरुले जिन्स पाइन्ट लगाएर नाच्ने, दरखाने निहँुमा रक्सी खाएर उत्ताउला छाडा गीत, संगीत सहितको तिजले मौलिकताको गुमेको प्रष्ट देखिन्छ । यो विशेषगरी महिलाको पर्व हो । यसमा आफ्ना दिदीबहिनी आमासँग रमाइलो गर्न पुरुषहरुले पनि पाउनुपर्छ तर त्यसका नाममा जथाभाबी गीत गाएर यस पर्वको मौलिकता नै नष्ट हुने जस्ता कार्य गर्नु गलत हो । तिजका भाका भनेको त मौलिक लोक संस्कृति झल्कने हुनुपर्छ । हाम्रा गाउँले दिदीबहिनीका पिर व्यथा वेदनाहरु समेट्न सक्ने हुनुपर्दछ । तसर्थ तिजको मौलिकता जोगाउन सबै पक्ष लाग्न जरुरी छ ।