नेपाल र नेपालीले मनाउने चाडपर्वहरू अनगिन्ती छन् । यो हाम्रो देशको चिनारी हो र देशको पहिचान पनि हो । नेपाल एउटा सार्भभौम सम्पन्न मुलुक हो । नेपाली समुदायमा विभिन्न जातजाति, भाषाभाषी छन् ।
हिमाल, पहाड, तराई, मधेस, पूर्व, पश्चिम सबै ठाउँमा आ–आफ्ना मूल्य–मान्यता र रीतिरिवाज अनुसारका चाडपर्व मनाउने गरिएको छ, जसले गर्दा चाडपर्वलाई घरपरिवार, छरछिमेक साथीभाइ तथा इष्टमित्रहरूमा भेटघाट गर्ने, मीठो–मसिनो बनाएर खाने, खबर आदानप्रदान गर्ने, चेली–माइतीको सम्बन्ध सुमधुर बनाई आपसी भलाकुसारी गर्ने माध्यमका रूपमा लिने गरिएको पाइन्छ । तर, हिजोआज चाडपर्वका नाममा दिनहुँ विकृति बढ्दै गइरहेको छ । आधुनिकताका नाममा चाडपर्वको वास्तविक महत्व हराउदै गएको छ । यो दुखद् हो । पश्चिमी संस्कृतिका कारण हाम्रा धर्म संस्कृति तथा मौलिकता विस्तारै हराउदै गएको छ । तर यसो हुनु हुँदैन । पछिल्लो समयमा सञ्चार माध्यम ( विभिन्न किसिमका सामाजिक सञ्जाल, टिकटक, युटुव)को व्यापक विस्तारका कारण घर–घरमा अनि हात–हातमा यसको पहुँच पुगेकाले पनि हाम्रा मौलिकपनमा आधुनिकताको नाममा विकृति प्रवेश गरेको छ । हाम्रा चाडपर्व, गीत संगीतमा पनि यसले प्रश्रय पाएको पाईन्छ । यसर्थ नेपाली संस्कृति र चाडपर्वका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
समाजका मानिसहरुको दैनिक जीवन पद्दतीबाट उत्पन्न भएका क्रियाकलापहरु संस्कृति हुन । यस अन्तर्गत सामाजिक मूल्य मान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका, प्रविधि लगायत सम्पूर्ण भौतिक तथा अभौतिक पक्षहरु पर्ने गर्दछन् । यस अन्तर्गत हाम्रा मूल्यमान्यता, प्रथा, भाषा, रितिरिवाज, कला तथा हाम्रा धार्मिक क्रियाकलाप र यस अन्तर्गतका चाडपर्वहरु आदि समावेश हुने गर्दछन् । नेपाल भौगोलिक रुपमा जति विविधता बोकेको छ यहाँको धर्म, संस्कृति, रितीरिवाज, भेषभूषामा पनि उत्तिकै विविधताले भरिएको छ । यहाँ १२५ जातजाती र १२३ भाषाभाषी त्यो भन्दा बढी धार्मिक तथा सांस्कृतिक विविधता रहेको छ । नेपाली जनताको जीवनस्तर सुधार गर्नमा विदेशबाट कमाईका रुपमा आउने रेमिटान्सको भूमिका उल्लेख्य रहेको छ । जति विदेशको कमाई देश भित्र भित्रिएको छ त्यो भन्दा बढी आधुनिकताको नाममा विकृतिहरु भित्रिएको पाईन्छ । कतै यो भित्रिएको आधुनिकतावाद र विकृतिले हाम्रा माैिलक र परम्परालाई ओझेलमा पार्ने त होइन प्रश्न चिन्ह खडा गरेको छ । आधुनिकताको नाममा हाम्रा परम्परागत चाडपर्व मनाउने तरीकामा हाम्रा गीत संगीतमा, हाम्रा खानपानमा, हाम्रो बोलचाल गर्ने तरिकामा अनि हाम्रा लगाउने कपडामा विकृति प्रवेश गरेको सजिलै अनुमान गर्न सकिन्छ । हाम्रा कलाकारले सिर्जना गर्ने सिर्जनामा प्रयोग भएका शब्दमा मौलिकता होइन आर्थिक र सस्तो लोकप्रियता प्रवेश गरेको पाईन्छ । परिवारसँग सँगै बसेर सुन्न नसकिने गीतसगीत हुनु त्यस्तै खालका दृश्य सामग्री बनाउने कार्यले दिनप्रतिदिन प्रश्रय पाएको पाईन्छ । यस क्षेत्रको नियन्त्रण र निर्देशन गर्ने राज्यको तर्फबाट भरपर्दो संयन्त्र नहुनुले पनि यस पक्षमा नियन्त्रणको सट्टा वृद्धि हुने मौका पाएको हो की ? यसको उच्चित व्यवस्थापनमा राज्यका निकायहरु तत्काल लाग्न जरुरी छ । बजारमा आउनु भन्दा पहिला हरेक गीतसंगीत लगाएतकाको सेन्सर हुनुपर्दछ । आधुनिकता र प्रर्दशन प्रभावका कारण हाम्रो भान्सामा मौलिक खानकुरा पाक्न छोडिसकेका छन् भने यसको विकल्पमा परनिर्भरतालाई बढाउने खालका खानेकुरा भित्रिएको देखिन्छ । परम्परागत कपडाको स्थान आधुनिक र विभिन्न देशमा बनेका विदेशी संस्कृति झलकाउने कपडाले लिएको पाईन्छ । हाम्रा चाडपर्व मनाउने तरीकामा पनि यो पक्ष अछुतो रहन सकेको छैन । अब केहि दिनमा हामी हिन्दु महिलाको महत्वपूर्ण चाड हरीतालीका तीज पर्व मनाउन गहिरहेका छौं । दुर्गम गाउँ घरमा यस्ता पर्वले मौलिकता बोकेको पाईन्छ भने शहर तिर यो खर्चिलो र भड्कीलो बन्दै गईरहेको पाईन्छ । कोरोना कहरका कारण विगतका वर्ष र यो वर्षको चाडपर्वहरु परिवारमा नै समिति रहने देखिन्छ भने त्यो भन्दा अगाडि पर्व आउनु भन्दा अगाडि देखिनै रिसोर्ट, होटल, पाटीप्यालेसमा दर खाने प्रवृत्ति मौलाएको पाईन्छ । तिजको अघिल्लो दिन खाने दर आज भोली महिनौ अगाडिदेखि खाने प्रवृति मौलाएको पाईन्छ । दर खाने दिन मूख्यतया दुधबाट बनेका मीठा–मीठा परिकारहरु पर्ने गर्द छन् र विशेष त तिनै परिकारहरु दर भित्र पर्ने गर्दछन् तर आजभोली दर भित्र यस्ता परिकारहरु समावेश नभै बाह्य देशका परिकारसँगै मादक पदार्थ लगाएतका वस्तुहरु खाने चलन बढ्दै गएको देखिन्छ । यस पर्वलाई भनेर निकालिएका केहि कलाकारका गीत संगीत तिज गीत हो की रतौली गीत हो छुट्टयाउन अप्ठयारो पारेको छ । यी विविध पक्षलाई हेर्दा हाम्रो परम्परागत मौलिक चाडमा विकृतिलाई प्रश्रय गरेको प्रष्ट देखिन्छ । यस प्रवृत्तिबाट एकातिर हाम्रा मौलिक कुरा छोड्दै गएका छौ भने अर्को तर्फ आर्थिक परनिर्भरता र गरीबीलाई वृद्धि गर्दै जाने देखिन्छ । आम्दानीको मूख्य स्रोतको रुपमा नेपालीका घर–घरमा रेमिटान्स भित्रनु जसको कारण नेपालीको जीवनस्तर ह्वातै माथि उकासिनु, प्रविधि र सञ्चार माध्यमको अत्याधिक प्रयोग हुनु जसको कारण आधुनिकताको नाममा बाह्य देशको संस्कृती देश भित्र अनुकरण गर्नु, बढ्दो शहरीकरण, बसाईसराई, प्रर्दशन प्रभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक अतिक्रमण, हाम्रो परम्परागत मूल्य मान्यतामा आएको परिवर्तन, पुस्ता हस्तान्तरणका कारण युवामा आएको परिवर्तन आदि हाम्रा धर्म संस्कृतिमा आधुनिकताको नाममा विकृत्ति भित्रनुका मूख्य कारणका रुपमा लिन सकिन्छ । हाम्रा धर्मसंस्कृति अपनाउँदै गर्दा भित्रयाइएको आधुनिकताले एकातिर आर्थिक परनिर्भता बढाएको पाईन्छ । यसले आयात व्यापारमा वृद्धि गरी व्यापार घाटाको अशंमा झनै वृद्धि गरेको देखिन्छ भने अर्को तर्फ भावी पुस्ताका लागि हाम्रा मौलिक परम्पराहरु भावी पुस्ताका लागि सबै मेटाइदिने स्थिती आउने हो की प्रश्न चिन्ह खडा गरेको छ ।
आर्थिक रुपमा केहि परिवर्तन हुँदैमा हाम्रा परम्परालाई लत्याउदै आधुनिकतामा रमाउनु हुँदैन । यी हाम्रा विशिष्ट पहिचानहरु हुन् । यसले हामीलाई विश्व सामू छुट्टै पहिचान र विशिष्टता स्थापना गरेको छ । देखासीकीको नाममा हामीसँग भएका कुराहरुलाई छोड्दै जाने होइन तिनिहरुलाई झनै राम्रो परिस्कृत बनाउदै लानु जरुरी देखिन्छ । हाम्रा मौलिक परम्परालाई अन्त्य गर्नका लागि देश भित्र सञ्चालन भएका विदेशी मिडियाहरु, डलर र विकासका नाममा खोलिएका देशी तथा विदेशी प्रोजेक्टहरु परम्परागत धर्म संस्कृतिलाई मेटाउनका लागि लागिरहेका छन् । अप्रत्यक्ष रुपमा हस्तक्षेप गरी रहेका छन् । त्यसलाई हामीले बेलैमा बुझि आधुनिकताको नाममा अगाडि बढ्यौ भने कुनै दिन हामी नेपालीको मौलिकता केही रहँदैन । त्यसैले एकपटक मनन् गर्ने र हामीलाई सच्चयाउने बेला आएको छ । सामाजिक, साँस्कृतिक विविधताको पक्षमा नेपाल एक जीवीत संग्राहालय नै हो भन्दा दुईमत नरहला । एउटा पूmलबारीको विविधता जस्तै यहाँ हरेक विषयमा, हरेक क्षेत्रमा विविधताले भरिएको छ । धर्म संस्कृति, साँस्कृतिक क्रियाकलापहरु एउटा पुस्ताबाट अर्को पुस्तामा, एउटा समाजबाट अर्को समाजमा, एउटा व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण हुँदै जाने भएकाले हाम्रा मौलिकता र परम्परालाई जोगाउँदै अगाडि जानु आजको आवश्यकता हो । हाम्रा मौलिक परम्पराले राष्ट्रिय एकता, जातीय एकता र सुन्दर शान्त नेपाल कायमै राख्नका लागि सहयोग पुर्याउने गर्दछ । हाम्रा धार्मिक साँस्कृतिक परम्परामा कतै केही कुरीती छन् भने पनि त्यसलाई अन्त्य गरी सुधार गर्दै अबका दिनमा विश्वले हाम्रा मौलिक परम्पराको अभ्यास र अनुसरण गर्ने वातावरण बनाउनको लागि आ–आफ्नो ठाउँबाट हामी सबै लाग्ने की ? मौलिकता र पहिचानका रुपमा रहेका चाडपर्व र संस्कृतिलाई विकृतिको रुपमा अगाडि नबढाऔं । संस्कृतिलाई सस्ंकृति बनाऊ विकृति नबनाऊ । हामीसँग जे छ त्यसैमा रमाउन सिकौं । आउदै गरेको हरीतालीका तीज पर्व २०७८ को उपलक्ष्यमा सम्पूर्ण नेपाली महिलाहरुमा हार्दिक मगलमय शुभकामना । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)