
सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा विशेषतः खण्डकाव्यकारका रूपमा चिनिन्छन् । उनको जन्म ९ जेठ १९६९ को शुक्ल पञ्चमीका दिन ओखलढुंगामा भएको थियो । श्रेष्ठलाई आदरपूर्वक युगकवि भनिन्छ । यो पदवी सरकारले दिएको राजकीय पदवी होइन । तर उनी सरकारको होइन, पञ्चायतको जगजगीको बेला, राजाको सक्रिय शासनको बेला सरकारभन्दा माथिल्लो तहमा राखिएको राजसभाको सदस्य थिए । तर उनी सरल थिए, कवितामा पनि व्यवहारमा पनि । तिनै व्यक्तिको सम्झना गरी शुक्रबार देशभैभर जन्म जयन्ती मनाइएको छ । नेपाली साहित्यको क्षेत्रमा उनको योगदान महत्वपूर्ण रहेको छ । मानवीय संवेदनाका मार्मिक भाव संयोजन गरी अन्याय अत्याचारका विरुद्धमा सिर्जित उनका कवितामा राष्ट्र, राष्ट्रियताप्रति आस्था, जन्मभूमिको माया र निम्नवर्गप्रति आगाध स्नेहको भाव अभिव्यक्ति नै उनको प्रमुख विशेषता हो ।
सिद्धिचरणले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग सहकार्य गरी स्वच्छन्दतावादी–प्रगतिवादी कवितालाई समृद्धि र समुन्नत गर्ने काममा ठूलो योगदान गरे । उनको जन्मदिनका अवसरमा हरेक वर्ष देशमा साहित्यिक समारोहरु हुने गर्दछन् । यस दिन साहित्यिक संघसंस्थाहरुले सिद्धिचरणलाई सम्झने गर्दछन् । यो आफैमा सकारात्मक छ । नेपाली साहित्यजगतका सुविख्यात कविहरूमध्ये सिद्धिचरण एक हुन् । उनको कविताशिल्पको अन्तिम खोज मानव हो । उनका कवितामा विश्वको व्यथा छ, निजी मर्मस्पर्शिता छ, समाज सुधार्ने सामथ्र्य छ । उनका कवितामा देशप्रेम भरिएको छ । कवितामा जति प्रकृतिको उपासना र आराधना पाइन्छ, त्यति नै राजनीतिक चेतना र वेदनाको सहज धारा–प्रवाह जीवन्त छ । उनको कवितामा विरोधाभाष छैन सामाञ्जस्य छ । प्रकृतिको अत्यन्त सरल चित्रण गर्नु तथा समाजलाई उठ्ने चेतना दिनु उनको लेखनको वैशिष्ट्य हो । नेपाली साहित्य समाजमा जनचेतना र जागरणको उजागर गर्ने सिद्धिचरण प्रकृति कवि, मानवतावादी कवि प्रगतिचिन्तन कवि, रोमान्टिक कवि, सामाजिक यथार्थवादी तथा युगकविका रूपमा अमर अजर छन् । राणा शासनको दमन र अत्याचारको विरोध गर्नेमध्येका एक सिद्धिचरणले ६ दशकसम्म नेपाली कविता र काव्यशिल्पद्वारा राष्ट्रलाई जीवन्त र जागृत बनाउन विशिष्ट योगदान पु¥याएका थिए । यसर्थ नेपाली साहित्य क्षेत्रमा उनले पुर्याएको योगदानको सबैले अनुसरण गर्न जरुरी छ ।