
यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरिएको छ । अबको केही समय डेंगी संक्रमणको जोखिमको समय हो । यसबाट बच्च र बचाउन सतर्कता अपनाउन आवश्यक छ । एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग हो डेंगु । डेंगु रोग लाग्न नदिन सरसफाइमा विशेष ध्यान दिनु पर्छ । लामखुट्टे सफा तथा स्थिर पानीमा मात्र हुर्कन्छ । घर वरपरका खाल्डाखुल्डी तथा खुला भाँडाकुँडामा पानी जम्न दिनु हुँदैन । यदि, घरमा खुला रूपमा पानी जम्मा भए लामखुट्टेले पानीमै अन्डा पार्ने र लार्भा हुर्काउने गर्छ । लामखुट्टको संख्या वृद्धि भई डेंगु रोग फैलन सक्छ । लामखुट्टेको अण्डामा समेत डेंगु भाइरस हुन्छ । एउटा लामखुट्टेले आठ सयदेखि हजार वटासम्म अण्डा पार्छ । त्यस्ता लामखुट्टेलाई मारेर डेंगु नियन्त्रण गर्न सक्नु पर्छ । घरआँगन सफा राखे डेंगुले सताउँदैन ।
डेंगु भाइरसबाट हुने भएकाले यसको खास उपचार छैन । उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने, र आराम गर्ने डेंगुको उपचार हो । डेंगुका जटिल लक्षणहरु देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान चिकित्सकको सुझाव छ । डेंगु भाइरस भएका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती तथा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई गम्भीर असर पर्ने हुँदा विशेष ध्यान दिनुपर्छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, खाली ठाउँमा मल्हम लगाउने, सधैँ सुत्दा झुलभित्र सुत्ने, घर वरपर वा खेतीबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउने, झ्याल ढोकामा जाली लगाई बन्द गर्नुपर्छ । लामखुट्टेको बच्चा पार्न रोक्न लामखुट्टे उत्पन्न हुन नदिन लामखुट्टेले फुल पार्ने ठाउँहरुमा फुल पार्न नदिनु नै उपयुक्त उपाय हो । कुलरमा रहेको पानी हप्तामा दुई पटक सफा गर्ने, गमला वा गमला राखेको प्लेटमा जमेको पानी हप्तामा दुई पटक फालेर सफा गर्ने, त्यस्तै, भाँडाकुँडामा पानी जम्न नदिन घोप्ट्याएर राख्ने, घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने, काम नलाग्ने भाँडाकुडा, सिसी र प्लाष्टिकका सामग्री, टायर आदिमा पानी जम्न नमिल्ने गरी विसर्जन गर्दा लामखुट्टे लाग्नबाट बच्न सकिन्छ । यसर्थ डेंगुको जोखिम बढेकाले त्यसबाट बच्न बेलैमा उच्च सतर्कता अपनाउन जरुरी छ ।