Shittalpati
गभर्नरका चुनौती

सत्ता गठबन्धन नै धर्मराउने गरी बल्झिरहेको नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अन्ततः प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्दै केन्द्रीय बैंकमा लामो समयदेखि रहेको नेतृत्व रिक्तता अन्त्य गरेको हो । कानुनले निर्धारण गरेभन्दा ढिलो गरी सरकारले पौडेललाई गभर्नरको जिम्मेवारी त सुम्पिएको छ, यो उनका लागि नयाँ अवसर भए पनि थुप्रै चुनौतिहरु पनि रहेका छन् । गभर्नर पौडेलका लागि अर्थतन्त्रलाई चलायमान बनाउने पुँजी बजार, घरजग्गा कारोबारलाई गति दिनु, वित्तीय अनुशासन कमजोर बन्दै गएको अवस्थामा बेथिति सुधार गर्नु, नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अध्ययन–अनुगमन गर्ने कार्यलाई प्रभावकारी बनाउनु, व्यावसायिक आत्मविश्वास बढाउनु, उपयुक्त मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउनु, शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने अवसर छ, जुन चुनौतीपूर्ण छ ।

नवनियुक्त गभर्नर पौडेल आर्थिक इतिहासका जानकारका रूपमा त परिचित छन्, तर वित्तीय क्षेत्रलाई कस्तो नेतृत्व दिन्छन् भन्ने भविष्यले मात्रै बताउन सक्छ । गभर्नर नियुक्तिकै सिलसिलामा राष्ट्र बैंकभित्रकै कर्मचारी प्रशासन विभाजित मनस्थितिमा रहेको हुँदा त्यहीँबाट विश्वास आर्जन गर्दै पौडेलले कार्यारम्भ गर्नुपर्छ । सरकारको आर्थिक सल्लाहकार मानिने केन्द्रीय बैंक आफैमा भने स्वायत्त हो, त्यस मान्यतालाई व्यवहारतः अक्षुण्ण राख्न सक्नुपर्नेछ पौडेलले । निक्षेपको ब्याजदर तल्लोविन्दुमा झर्दा आगामी दिनमा बचतमा सङ्कट उत्पन्न हुने जोखिम छ । यो तरलता परिचालनको निकास अविलम्ब निकाल्दै जानुपर्ने छ । आर्थिक वृद्धिदरलाई सहयोग हुने र पुँजी पलायन रोक्न सक्ने ब्याजदरतर्फ स्थायित्व दिँदै जानुपर्ने चुनौती छ । त्यसै गरी सरकार र अर्थ मन्त्रालयबिचमा कतिपय अवस्थामा आउने अविश्वासलाई नीतिगत र संस्थागत सम्बन्ध तथा सुस्थायित्वको वातावरणसमेत बनाउनु छ । त्यसै गरी निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्दै लगानीमैत्री वातावरणको निर्माण गरी अर्थतन्त्रलाई चलायमान बनाउनु छ । यी र यस्तै चुनौती नवनियुक्त गभर्नरमा देखिन्छ । यसर्थ यी चुनौतीहरुलाई चिर्दै अर्थतन्त्र सुधारको दिशा लाग्नु गभर्नर पौडेलका लागि उचित हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update