एजेन्सी । न्यूजिल्याण्डले सोमबार क्राइस्टचर्च टेस्टमा क्लीन स्वीप गरेको छ । भारतलाई सात विकेटले हराउँदै शृङ्खला २–० ले न्यूजिल्याण्डले क्लीन स्वीप गरेको हो। पहिलो टेस्टमा भारत १० विकेटले पराजित भएको थियो । खेलमा टस हारेर भारतले पहिलो इनिङमा २ सय ४२ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्ड मात्र २ सय ३५ रनमा सिमित बनेको थियो ।
७ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङमा मात्र १ सय २४ रन बनाउन सक्यो । १ सय ३२ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले मात्र तीन विकेट गुमाएर त्यसलाई पछ्यायो । लक्ष्य पछ्याउन टम ल्याथम र टम ब्लनडेलले क्रमशः ५२ र ५५ रनको योगदान दिए । खेलमा अलराउन्डर कायल जेइमसम प्लेयर अफ द म्याच चुनिए । यसअघि, भारतले टी–२० सिरिज क्लिन स्वीप गरेको थियो भने एकदिवसीय खेलमा न्यूजिल्याण्डले भारतलाई ३–० ले हराएको थियो ।
दुई खेलको टेस्ट शृङ्खलामा भारतका शीर्ष पाँच ब्याटसम्यानले मात्र ४ सय २९ रन बनाउन सके । २ या सोभन्दा बढी टेस्टमा भारतको यो सबैभन्दा खराब प्रदर्शन हो । यसअघि सन् २००२ मा न्यूजिल्याण्डमा नै शीर्ष पाँच ब्याट्सम्यानले २ सय ९६ रन बनाएका थिए । शृङ्खलामा कप्तान विराट कोहली फ्लप साबित भए । उनले चार इनिङमा ३८ रन बनाउँदा मोहम्मद शमीले ३ इनिङमा ३९ रन बनाएका थिए ।