शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् ।
केही वर्षयता नेपालमा पनि योगको महत्व बढ्दै गएको छ ।
गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । बौद्धिक जमातले समेत योगलाई आत्मसात् गर्न थालेको पाइन्छ । योगको विकास र विस्तारसँगै नेपालमा पनि योग दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले जून २१ लाई विश्व योग दिवसको रुपमा घोषणा गरेको थियो । सोही अनुरुप विश्व लगायत नेपालमा पनि आज यो दिवस मनाउन लागिएको छ । योग मानिसको जीवन जिउने कला मध्येको एउटा महत्वपूर्ण माध्यम हो, तथापि हातखुट्टा तन्काउनु, स्वाप्रस्वासका प्रक्रिया मार्फत शारीरिक अभ्यास गर्नु मात्र योग होइन । योग हाम्रो जीवन पूर्णतासाथ जिउन आवश्यक पर्ने जीवन पद्दति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो । योगलाई मानिसहरुले शारीरिक स्वास्थ्य र तन्दुरुस्तीको माध्यम बनाएका हुन सक्छन् । तर, योग शारीरिक समस्याहरुको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरुको समाधान पनि हो । वर्तमान अवस्थामा योगको महत्व र सान्र्दभिकता झन बढेर गएको छ । प्राचीन समयमा हरेक रोगको उपचारमा योगको प्रयोग गरिए पनि आधुनिक चिकित्साको विकाससँगै योग ओझेलमा परेको थियो । तर, अहिले योगबाट पनि विभिन्न रोगको उपचार गर्न संभव छ भन्ने पुष्टि हुँदै गएपछि यसको महत्व बढ्दै गएको हो ।