नेपालमा कोरोना महाव्याधि भयावह बन्दै गएको छ । यहाँ दैनिक सयौं नागरिकको ज्यान गएको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमितहरुले अस्पतालहरुका बेड भरिभराउ भएका छन् । पछिल्लो समय सबैजसो कोरोना संक्रमितको उपचारमा अक्सिजन दिनु परेको चिकित्सकहरुले जनाएका छन् । अस्पतालका बेडहरु बिरामीले भरिएपछि संक्रमितहरुको पेटीमा राखेर समेत उपचार गर्नुपरेको छ । अस्पतालका शैयाहरू जटिल खालका संक्रमितले भरिभराउ छन् । नयाँ संक्रमितले अस्पतालमा शैया पाउने अवस्था छैन । हरेक दिन स्वाब परीक्षण गराएकामध्ये ८० देखि ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । अब करिबकरिब घर –घरमा संक्रमण पुगेको छ । कतिपय घरमा त पूरै परिवार संक्रमित छन् ।
अस्पतालहरुले अक्सिजनको चरम अभाव झेलिरहेका छन् । अक्सिजन नहुँदा कति अस्पतालले चाहेर पनि नयाँ बिरामी भर्ना गर्न सकेका छैनन् । सामान्य अस्पताल सुबिधा मात्रै पाएमा पनि ज्यान जोगिन सक्ने बिरामीले पनि मृत्युवरण गर्नुपरिरहेको छ । अस्पतालमा पालो कुर्दाकुर्दै या शैया खोज्दा–खोज्दै कतिले एम्बुलेन्समै ज्यान गुमाइरहेका छन् । खासमा, कोभिडले भन्दा बढी अव्यवस्थित र कमजोर स्वास्थ्य सेवा प्रणालीका कारण यतिबेला संक्रमितहरूको निधन भैरहेको छ । यस्तो अवस्थामा समेत सरकार निरिह देखिन्छ । सरकार जनताको अभिभावक हो तर पनि यो विषयमपस्थितीमा अभिभावकीय भूमिका निभाउनबाट सरकार चुकेको छ । वर्तमान अवस्थामा सरकारले अक्सिजन लगायतका पूर्वाधारको जतिसक्दो चाँडो जोहो गर्नु अपरिहार्य छ । महामारीको यो लहरमा संक्रमित मात्र होइन, सिकिस्त बिरामी हुने पनि बढिरहेका छन् । एउटा अस्पतालमा अक्सिजन सकिँदा अर्को अस्पतालबाट ल्याएर उपचाररत बिरामीको ज्यान जोगाउनुपर्ने अवस्थासमेत निम्तिएको छ । कति अस्पतालहरूले दिनहुँ बिरामीहरूलाई अक्सिजन अभावमा फिर्ता पठाउदा ज्यान गएको छ । तसर्थ यस्तो अवस्थामा सरकारले आम नागरिकको ज्यान बचाउँने दिशामा गम्भीर भएर सोच्न जरुरी छ ।