Shittalpati
रेडक्रस दिवसको सार्थकता

आज विश्व रेडक्रस दिवस अर्थात् मे ८ तारिख । हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस विश्वव्यापी रुपमा छरिएर रहेका रेडक्रसका निकाय र यसमा आबद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि एउटा विशेष पर्व हो । रेडक्रस अभियानका संस्थापक एवम् पवद्र्धक महानायक जाँ हेनरी ड्यूनाको सम्झनामा उनीप्रति श्रद्धासुमन प्रकट गर्ने र अभियानका मानवीय गतिविधि, यसका आदर्श सिद्धान्त र समृद्ध इतिहासलाई प्रचारप्रसार गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा यस दिवसलाई लिइन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरे । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलन भयो र यसले अधिकारीक मान्यताप्राप्त ग¥यो । तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।
रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानियो । रेडक्रसको मुख्य लक्ष्य भनेको मानव उद्दार हो । मानविय उद्दार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पु¥याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्दार गरि जीवन रक्षा गर्नु भन्ने बुझिन्छ । मुलुक अहिले कोरोना महामारीसँग लडिरहेको छ । यस्तो अवस्थामा रेडक्रस जस्ता स्वयमसेवी संस्थाहरुको खाँचो अपरिहार्य छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि रेडक्रसकर्मीहरु प्रत्यक्ष वा परोक्ष रूपमा मानव सेवामा समर्पित हुन जरुरी छ । यतिबेला कन्ट्र्याक्ट ट्रेसिङ, मनोसामाजिक सहयोग, क्लिनिकल सेवा, रक्तसञ्चार, निःशुल्क एम्बुलेन्सदेखि क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनमा रेडक्रस तथा रेडक्रिसेन्टका हरेक राष्ट्रिय एकाइहरु एक जुट हुनुपर्दछ । रेडक्रस अभियानको लक्ष्य जुनसुकै समय र स्थानमा हुन सक्ने मानवीय पीडा हटाउनु वा कम गर्नु पनि हो । सोही लक्ष्य अनुसार मानवीय सेवाका विषयमा आवश्यक पर्दा सरकारलाई सहयोग गर्दै रेडक्रस जनचेतना फैलाउँदै घर–घरमा पुग्न पनि रेडक्रस सक्नुपर्छ । कोरोना भाइरसको महामारीका सन्दर्भमा भौतिक दूरी कायम गर्दै सामाजिक सद्भाव अभिवृद्धि गराउने दिशामा रेडक्रसले आफुलाई सक्रिय बनाउनुपर्छ । यसो गर्न सके मात्र रेडक्रस दिवसले सार्थकता पाउन सक्छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update