आज फेब्रुअरी ४ का दिन विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । सामान्यतया हाम्रो शरीरका कोषहरु अनुशासनमा बस्छन् । तर, विभिन्न कारणले ती कोषहरु एकाएक बढ्ने गर्छन् । जसले गर्दा शरीरमा समस्या आउँछ । यसैलाई क्यान्सर भनिन्छ । केही वर्षयता नेपालमा क्यान्सरका बिरामी निरन्तर बढिरहेका छन् । मानिसको बदलिदो जीवनशैली, जनसंख्या वृद्धि, औषत आयु बढ्नु आदि कारणले गर्दा क्यान्सर रोगको प्रकोप बढिरहेको छ । संसारमा मृत्युको कारक रोग मध्ये १४ प्रतिशत क्यान्सर रहेको छ । क्यान्सर शरीरको जुनसुकै अंगमा लाग्ने भएता पनि विशेषतः फोक्सो, महिलाहरूको स्तन, ठूलो आन्द्र/मलद्वार र आमाशयमा क्यान्सर हुने गरेको पाइन्छ । नेपालमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर, मुख, टाउको तथा घाँटीमा क्यान्सर अत्याधिक हुने गरेको पाइन्छ । क्यान्सरबाट प्रभावित हुने बिरामीहरुको संख्या विश्वमा औषत १ लाख जनसंख्यामा १ सय ८८ जना प्रतिवर्ष भन्दा धेरै रहेको पाइन्छ ।
क्यान्सर दिवसका दिन धेरै ठाउँहरुमा औपचारिक कार्यक्रममहरु आयोजना गरेर जनचेतना जगाउने काम गरिन्छ तर यो एक दिन मात्र चासो देखाएर हुँदैन । हरेक दिन क्यान्सर बारे चासो, चिन्ता र परामर्श भइरहन आवश्यक छ । यतिखेर क्यान्सरमा निःशुल्क उपचार गर्न सक्ने अवस्था छैन । यो धेरै महङ्गो उपचार हो । सरकारले स्वास्थ्य बिमामार्फत उपचारमा सुविधा दिएको छ, यो विपन्न बिरामीलाई ठूलो राहत हो । तर त्यो एक लाख क्यान्सर उपचारका लागि पर्याप्त भने हैन । यो सुविधा हात्तीको मुखमा जिराजस्तै हो । क्यान्सर रोकथामको पहिलो दायित्व जनचेतना जगाउनु नै हो । क्यान्सरबारे जनचेतना जगाउन स्वास्थ्यकर्मीलाई तालिमसँगै आमसञ्चार माध्यमबाट जनचेतनामूलक सामग्री प्रकाशन–प्रसारण गर्न आवश्यक छ । यसका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्न जरुरी छ । यसो गर्न सके मात्र निकट भविष्यमा ठूलो समस्याको रुपमा देखापर्ने प्रक्षेपण गरिसकेको यस रोग नियन्त्रणको लागि ठूलो टेवा पुग्ने देखिन्छ ।