कोरोनाविरुद्धको खोप नेपालमा पनि लगाउन सुरु गरिएको छ । विश्वका विभिन्न मुलुकले यसको धमाधम प्रयोग गर्न थालेपछि नेपालले पनि भारतबाट प्राप्त भएको अनुदान स्वरुप खोप लगाउन सुरु गरेको हो । विभिन्न विकसित देशका विज्ञहरूले लामो समयसम्मको अनुसन्धान तथा परीक्षणपछि यसमा सफलता पाएका हुन् । विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि यो खोप मानवमा प्रयोग हुन थालेको छ । गत बुधबारदेखि नेपाल सरकारले पनि सबै प्रदेशबाट खोप अभियान सञ्चालन गरेको छ ।
यो आफैमा सकरात्मक रहेको छ ।
नेपालमा कोरोनाविरुद्धको खोप यति छिटो आउला भन्नेतर्फ कसैले पनि सोचेको थिएन । भारतले आफ्नो मुलुकमा उत्पादन भएको खोप दिने मुलुकमा नेपाललाई प्राथमिकतामा राखेको बताए पनि उक्त खोप कहिले आइपुग्छ भन्ने अनुमानसमेत गर्न कठिन थियो । अब भने खोप लगाउन पाइनेमा नेपाली विश्वस्त भएका छन् । यद्यपी अब सरकारको ध्यान यो खोपको न्यायोचित वितरण र अन्य खोप आयातमा केन्द्रित हुनुपर्छ । सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क लगाइदिनेछ भन्नेमा आश्वस्त पार्न सक्नुपर्छ । पहिलो चरणमा लगाएका समूहलाई नै फेरि ४ हप्तापछि दोस्रो डोजको खोप लगाउनु पर्ने छ । १० लाख डोज खोप छ भनेर १० लाख मानिसलाई अहिले नै दिँदा दोस्रो डोज लगाउने बेलामा खोप आएन अथवा पाइएन भने समस्या हुन्छ । गर्भवती, स्तनपान गराउने र बालबालिकालाई कोरोनाको खोप लगाइँदैन । पहिला डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई सुरक्षित गरिएन भने अरुको उपचार कसरी गर्ने ? दीर्घरोगी, सिकिस्त बिरामीहरु अहिले लगाउने भनिएको तीन प्रतिशतभित्र परेका छैनन् । ती दोस्रो प्राथमिकतामा पर्छन् कतिपय विवादित कुराहरु पनि छन् । कतिपयले युवालाई पहिले खोप दिनुपर्छ भनेका छन् । तर युवामा रोगसँग लड्न सक्ने क्षमता धेरै हुने भएकाले पहिला युवालाई भन्दा अरुलाई नै दिनुपर्छ । अति आवश्यक र जोखिममा पर्ने समूहको पहिचान गरेर उनीहरूलाई प्राथमिकता दिनुपर्छ । तसर्थ खोप वितरण गर्दा पारदर्शी अपनाउन जरुरी छ ।