नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ । यसका कारण घर–घरमा स्वस्थानी माताको विधिपूर्वक पूजा–आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत–पुजा गर्ने परम्परा रहिआएको छ । यस वर्षको स्वस्थानी व्रत आजदेखि सुरु हुँदैछ । नेपाली महिलाहरुले लिने व्रतभन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिइन्छ ।
थुप्रै धार्मिक र सामाजिक महत्व बोकेको यस स्वस्थानीको व्रत सत्य युगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउ भनेर १ छाक खाएर निकै कस्टका साथ व्रत बसेको र व्रत पश्चात् आफ्नो मनोकामना पूरा भएको जनविश्वास पाइन्छ । साथै अर्काे सामाजिक पाटोलाई हेर्ने हो भने गोमा व्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गर्दै बालबालिका बारे जनतचेतना फैलाएको छ । यसले संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुषबीचको लैङ्गिक समानताको वकालत पनि गरेको छ ।
श्री स्वस्थानी व्रत कथाका केहि सन्दर्भ उठाएर सनातन धर्मको आलोचना नभएको भने हैन तर पनि मानिसलाई आध्यात्मिक तर्फ लैजान स्वास्थानी व्रत कथाको महत्वपूर्ण कुराहरु कथामा उल्लेख गरिएको छ । विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति असल होस् भन्ने प्रार्थना स्वरूप यो व्रत बस्दै आएको पाइन्छ । स्वस्थानी व्रतकथाको आशयलाई हेर्ने हो र निरन्तर प्रयास, लगनशीलता देखाउने हो भने अवश्य पनि सफलता हात पार्न सकिन्छ र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने पाठ यसबाट पाउन सकिन्छ । तर कुनै चिजको प्राप्तिको लागि कठोर संघर्ष र तपस्या भने गर्ने पर्ने हुन्छ, तब मात्र सफलता प्राप्त गर्न सकिन्छ । शुरुमा नै फलको आश गर्ने र परिश्रम नगर्ने हो भने सफलताको सम्भावना अत्यन्तै कम हुनसक्छ भन्ने कुरालाई हिमालयकी छोरी पार्वतीले महादेव स्वामी पाउनको लागि बालुवाको शिवलिंग बनाई एक महिना गरेको तपस्याका कारण पाएको सफलतालाई लिन सकिन्छ । यसर्थ स्वस्थानी व्रत कथामा सामाजिक महत्वलाई गहन किसिमबाट उल्लेख गरिएको पाइन्छ ।