Shittalpati
विकासको काम ओझेलमा

संसद् विघटनपछि देशको राजनीतिक घटनाक्रम नै मोडिएको छ । यसले राजनीतिक घटना क्रममा मात्रै होइन विकास निर्माणका हरेक पक्षलाई असर गरेको छ । सरकार र राजनीतिक दल नै आ–आफ्नै शक्ति संर्घषमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि चुनावको मिति तय गरेकी छन् । यसले पनि सरकार र सरकारी निकायहरु चुनावी तयारीमा जुट्नुपर्ने छ । देशभरका स्थानीय तहमा मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगले पनि कसरत थालेको छ । तर, आर्थिक वर्षको अन्तिम चौमासिकमा हुने चुनावले भने स्थानीय सरकारका थुप्रै कामहरु ओझेलमा पर्न सक्ने देखिएको छ । चुनावले स्थानीय तहमा भइरहेको विकासका काममा बजेट छुट्याउन तथा कार्यान्वयनमा समस्या उत्पन्न हुन सक्ने स्थानीय सरकारहरूको मत छ । स्थानीय तहमा मध्यावधि चुनावका लागि आयोगले आचारसंहिता पठाएको बेला बजेट छुट्याउने तथा कार्यान्वयन गर्न समस्या उत्पन्न हुने छ । प्रदेश २ बाहेक सबैमा नेकपाको सरकार भएता पनि विभाजित पार्टीको विवाद प्रदेशमा पुगिसकाले त्यसको बाछिटा स्थानीय सरकारमा नपर्ला भन्न सकिन्न ।

सरकारकै अनिश्चिततामा योजना निर्माणको कार्यान्वयनका लागि बजेट उपलब्धमा हुने आशंका थपिएकाले लक्ष्य अनुरुप काम गर्न कठिनाइ हुने देखिन्छ । पाँच वर्ष सरकार चलाउन बहुमत पाएको ओली सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनाव गर्नुले स्थानीय सरकारका थुप्रै कार्यसम्पादनमा असर पुग्ने पक्का छ । त्यसमाथि पनि सरकारको चुनावी कदमबाट स्थानीय सरकारको विकास निर्माणका काममा अवरोध हुँदा समग्र देशकै विकासको गतिमा ढिलाइ हुने देखिन्छ । स्थानीय सरकार गठन भएपछि विकासमा काँचुनी फेर्ने अपेक्षा गरिएको थियो । अहिले पनि अधिकांश नागरिकमा यो आकाङ्क्षा कायमै छ । विकास र समृद्धिको नारा दिएर दलहरुले चुनाव जिते । स्थानीय तहमा दुई तिहाइभन्दा बढी बहुमतका साथ नेकपाले सरकार पनि बनायो । तर पछिल्लो अवस्था हेर्दा राजनीतिक दल, सांसद र मन्त्रीहरुको ध्यान विकासमा होइन, सरकारमा कसरी पुग्ने भन्ने मात्र छ । जनताका लागि काम गर्ने र विकासका लागि नेतृत्व गर्ने नेताहरुको प्रतिवद्धता जनताले भुलेका छैनन् । तर निर्वाचन भएको चार वर्ष पुग्नै लाग्दा पनि निर्वाचित जनप्रतिनिधि र सरकारले काम गर्न सकेनन् । यतिबेला त झन् सरकारको ध्यान कसरी आफ्नो कुर्ची बचाउने भन्नेमा छ । यसले पनि विकास निर्माणमा नेतृत्वको ध्यान गएको देखिदैन ।

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update