नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । शुक्रबार पनि ढाकाका टोपीहरु लगाएर दिवस मनाइएको छ । राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई टोपी दिवसको रुपमा मानिएको छ । जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका राष्ट्रहरुमा नयाँ वर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय वातावरण हुने हुनाले नेपाली टोपी लगाएर जनवरी १ लाई अझै विशेष बनाउन सकिन्छ भन्ने अवधारणा अनुसार नेपाली टोपी दिवस मनाउन शुरु गरिएको हो । केही वर्षयता अंग्रेजी नयाँ वर्षको सट्टा टोपी दिवस मनाउनु उपयुक्त हुने भन्दै नेपालमा यो दिवस मनाउन थालिएको छ । यो दिवसमा अहिले विस्तारै नेपालीहरू आकर्षित हुन थालेका छन् । साथै, टोपी दिवसका दिन युवायुवतीको उपस्थिति बढ्दो देखिन्छ । साथै, यो चलन देशभर फैलिने क्रममा पनि छ । यो दिवसका अवसरमा देशका विभिन्न स्थानमा टोपी लगाएर ¥याली आयोजना गरेको पाइन्छ । जसलाई सकारात्मक रूपमा लिन सकिन्छ ।
टोपी दिवस मनाउनुको एउटा अर्थ आफ्नै संस्कृति तथा संस्कारको संरक्षणको रूपमा लिन सकिन्छ । किनभने नेपालीहरूले धेरै पहिले आफ्नो शिरवस्त्रको रूपमा टोपी लगाउँदै आएका छन् । तर, पछिल्लो समय टोपी लगाउने चलन विशेष सभा समारोह वा कार्यक्रममा मात्र सीमित भएको छ । वृद्धहरूले टोपी लगाइरहे पनि युवायुवतीले भने कमै मात्र टोपी लगाउने गरेका छन् । यसकारण पनि आफ्नो संस्कृतिको रूपमा रहेको टोपी लगाउने चलन कतै विस्तारै हराउने हो कि भन्ने आशंका पनि बढ्दै गएको थियो । तर, स्वस्फूर्त रूपमा जनवरी १ मा टोपी दिवस मनाउनाले टोपीप्रतिको आकर्षणले सकरात्मक सन्देश प्रवाह गरेको छ । नेपाली टोपीलाई नेपालको सर्वोच्च शिखर सगरमाथाको बिम्बका रुपमा पनि लिइएको छ । शिरमाथि हिमालजस्तै बनाएर लगाइने भएकाले टोपीलाई सगरमाथाको उपमादिइएको हो । सगरमाथा विश्वकै अग्लो हिमाल हो । यसको पहिचानकै कारण हामी नेपाली कहलिन पाएका छौं । सर्वोच्च शिखरजस्तै स्वाभिमानी र अडिग छौं भनेर गर्व गर्न हरेक नेपालीले शिरमा ढाका टोपी लगाउनैपर्छ । टोपी दिवसमा मात्र होइन सधैँभरी टोपी लगाएर नेपालीपन झल्काउन सके मात्र टोपी दिवसले सार्थकता पाउन सक्छ ।