नेपालमा कोरोना संक्रमणको दरमा कमी आएपनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च हुन थालेसँगै झन असुरक्षा बढ्दै गएको महसुस हुन थालेको छ । आम सर्वसाधारणले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्दा, असावधानी र लापरवाही गर्दा यस्तो अवस्था आएको हो । शुरुमा अन्य देशहरुबाट भित्रिनेहरुमा मात्र देखिएको कोरोना भाइरस अहिले समुदायमै पुगेको छ । जसकारण स्वास्थ्य सेवा र सुविधा यथेष्ट नभएको हाम्रो देशका लागि यो अवस्था घातक हुन सक्छ । यही अवस्थाको कल्पना गरेर स्वास्थ्य क्षेत्रका जानकारहरुले शुरुदेखि नै परीक्षणको दर बढाएर महामारी नियन्त्रण गर्न सरकारलाई पटक–पटक आग्रह गरे । तर, सरकारले यसलाई गम्भीरतापूर्वक लिएन र अवस्था भयावह बन्न पुग्यो ।
खोप कहिले आउँछ भन्ने टुंगोसमेत नलागेको अवस्थामा भयावहको स्थिती सिर्जना हुनु दुःखद् हो । तथ्यांकमा संक्रमण दर र सक्रिय संक्रमितको संख्या कम देखिए पनि यथार्थ त्यस्तो होइन । परीक्षणको दर घटाइएकाले मात्रै संक्रमण दर घटेको हो । संक्रमण घटे पनि बढ्दो मृत्युदरले नै अवस्था सहज नभएको पुष्टि हुन्छ । जिम्मेवार सरकारी निकायले सम्भावित खतराको हेक्का नराख्ने हो भने अवस्था झन् जटिल हुँदै जानेमा दुई मत छैन । पछिल्लो समय नेपालमा परीक्षण कम हुँदै गएको छ । यसले पनि संक्रमितको दरमा कमी आएको हो । परीक्षण नै थोरैको गरिएपछि स्वाभाविक रूपले संक्रमितहरू कम हुने नै भए । तर मृत्युदर भने बढेको बढै नै छ । सरकारले संक्रमितको पहिचानसँगै उसको सम्पर्कमा आएका व्यक्तिलाई अलग्गाउँदै संक्रमण फैलिन नदिएको भए यो घटेको दर स्वाभाविक हुन्थ्यो, यसमा खुसी हुन सकिन्थ्यो । तर, आवश्यक ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दै नगरेर र परीक्षण घटाएर मात्रै संक्रमितको संख्या कम देखाइएकाले यो चिन्ताको विषय हो । दिनहुँ बढ्दै गएको कोरोनाबाट मृत्यु हुनेको दरले पनि मुलुकको वास्तविकताको एउटा छनक दिन्छ । मृत्युदर बढ्नु तर परीक्षण घट्नु उचित होइन । यसले हाम्रो संक्रमण रोक्न अपनाइनुपर्ने प्रतिकार्य प्रणाली प्रभावकारी नभएको प्रष्ट हुन्छ । यसको अर्थ, समाजमा संक्रमण अझै उच्च छ । तसर्थ, जनस्वास्थ्यको नियमलाई अझै पनि कडाइपूर्वक पालन गरी संक्रमणको अवस्थालाई भयावह हुनबाट रोक्न आवश्यक छ ।