पुस महिना लागेसँगै चिसो पनि बढ्दै गएको छ । यसै पनि पुस जाडोको मौसमले चिनिने महिनामा पर्दछ । अहिले मौसम एक्कासी बदलिएको छ । पुस, माघमा अत्याधिक जाडोले सताउने गर्दछ । बढी कपाउने जाडो यही मौसममा हो । कोभिड–१९ को महामारीबाट आक्रान्त तराई तथा पहाडी क्षेत्रका बासिन्दा यतिबेला चिसो मौसमका कारण थप सकसपूर्ण जीवन जिउन बाध्य छन् । तापक्रम घट्दै गएकाले पनि चिसो अत्याधिक बढ्दै गएको हो । तापक्रम घट्ने क्रम भर्खर मात्र सुरु भएको छ । यो अवस्था बढ्दो क्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै जटिल अवस्थाको सामना गर्नुपर्ने निश्चित छ । अस्पतालमा रुघा, खोकी, ज्वरो र निमोनियाका बिरामीहरु बढेका समाचारहरु आइरहेका छन् । जाडो बढेसँगै हामीलाई विभिन्न खालका रोगहरुले पनि सताउने गर्दछ । रोग गर्मीमा मात्र लाग्छ भन्ने कुरा गलत हो । जाडोमा जे खाएपनि पच्छ यसैले रोग लाग्दैन पनि भन्ने चलन छ । तर यो भनाइमा सत्यता छैन । रोग जाडो र गर्मी दुबै सिजनमा लाग्छ । केवल जाडोमा लाग्ने रोगको संक्रमण र गर्मीमा लाग्ने रोगको संक्रमण एकनासको नहुने मात्र हो ।
चिसो प्रकृतिजन्य समस्या भएकाले पनि यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । रोग लागेर विविध हैरानी बेहोर्नुभन्दा बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । यस्तो अवस्थामा न्यानो कपडाको प्रयोग, पोषिलो खानाको व्यवस्थापन, राम्ररी पकाइएका खानाको उपयोग तथा बासी र काँचो खानाबाट सतर्क रहनु नै उत्तम उपाय हुन सक्छन् । चिसो मौसममा शरीरमा तापक्रम बढाउने किसिमका खाना खानुपर्छ । सुप, दाल, खिचडी र रेसादार सागपात पर्याप्त मात्रामा खानुपर्छ । तातो खाना मात्र नभई शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ । स्वादका लागि मात्र तातो खानेकुरा नखाई शरीरको ताप बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानामा जोड दिनुपर्छ । मानिस व्यस्त हुने हुँदा यी कुराहरुमा ख्याल गरेको हुँदैन । सामान्य कुराहरुमा समेत खेलवाड गर्दा ठूलो रुप लिन्छ भन्ने कुराको मानिसले हेक्का राख्दैन । जसका कारण मृत्युको मुखमा समेत पुग्ने गरेको पाइन्छ । तसर्थ जाडोसँग खेलवाड नगरी यसबाट बच्न विशेष सतर्कता अपनाउन जरुरी छ ।