Shittalpati
जथाभावी जडीबुटी सेवन नगरौं

कोरोना भाइरस अर्थात् कोभिड–१९ महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यो भाइरसको संक्रमण निको पार्ने खोप तथा औषधीहरु परीक्षणकै चरणमा छन् । यद्यपी संक्रमितहरुका लागि रेमडिसिभिर औषधी र प्लाज्मा थेरापीमार्फत उपचार हुँदै आएको छ । कोरोना संक्रमण हुन नदिन तथा संक्रमणमुक्त हुन भन्दै पछिल्लो समय आयुर्वेदिक औषधी सेवन गर्नेहरुको संख्या पनि बढ्दो छ ।

कोरोना निको हुने र कोरोना लाग्न नदिने भन्दै आम नागरिकले थरिथरिका जडीबुटीको सेवन गरिरहेका छन् । यसरी आयुर्वेदिक औषधीका नाममा सेवन गरिएका जडीबुटी कति प्रभावकारी हुन्छन् भन्ने बारे प्रष्ट जानकारी नभए पनि सर्वसाधारणले कोरोना कहरका बीच विश्वासका साथ जडीबुटी प्रयोग गर्ने गरेको पनि पाइन्छ । घर वरपर उम्रेर त्यत्तिकै सडिरहेका जडीबुटीको सदुपयोग गर्न सकिएमा जीवन शैलीलाई स्वस्थ र सरल पार्न सकिँदो रहेछ भन्ने सन्देश पनि कोरोना महामारीसँगै जनमानसमा फैलिएको छ ।

चिकित्सा शिक्षाभित्र रहेको यसको बलियो पाटोलाई हिजोआज हरेक परिवारमा प्रयोग हुन थालेको गुर्जोको लहरा एक्लैले पनि प्रमाणित गरिसकेको छ । तर, जडीबुटीको सयौं गुण हुँदाहुँदै पनि आफूखुसी प्रयोगबाट अन्य स्वास्थ्य समस्या देखिएका बिरामी अस्पताल जान थालेका छन् । सही तरिकाले प्रयोग गर्न नजान्ने हो भने स्वास्थ्यमा गम्भीर असर पार्छ भन्ने तर्फ प्रयोगकर्ता सधैँ सचेत हुनु आवश्यक छ । मासिनसले सामान्य झारपात ठानिरहेका यी वस्तु हाम्रा अचुक सम्पत्ति हुन् । तर, अझै पनि यसको प्रयोग र उपचार प्रणाली पुख्र्यौली पद्दतिमै निर्भर छ । यही कारणले पनि नजान्दा नजान्दै यी जडीबुटीले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । यस्ता बहुगुणी तत्व भएकाले अहिले यसको सहरी तथा ग्रामीण भेगमा समेत प्रयोगको दर बढेको छ । जडीबुटी आफैमा राम्रो भए पनि यसको सही प्रयोगले मानव स्वास्थ्यमा सकरात्मक प्रभाव पारेको हुन्छ । तर यसको आफुखुसी प्रयोग गर्दा भने मानव स्वास्थ्यमा नकरात्मक असर पर्दछ । तसर्थ जडीबुटीको प्रयोग गर्दा डाक्टरहरुको सल्लाह लिएर मात्र प्रयोग गर्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update