गुल्मी, जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मी – २ अर्बेनी दभौखानी भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ । कालिगण्डकी गाउँपालिका –१ सिरकोटबाट वालिङतर्फ जाँदै गरेको बा ०२२० नम्वर महेन्द्र पिक जिप आज दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६ जनाको मृत्यु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले जानकारी दिए । उनका अनुसार पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय चालक दिलिपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली रहेका छन् । त्यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–१, सिरकोट घर भई हाल स्याङ्जाको वालिङ बस्ने ५५ वर्षीय लोकनाथ पाण्डे, हाल बुटवल बस्ने सीता पाण्डे, बुटवलको खैरेनी बस्ने कुलानन्द पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका –१० की नीता बगालेको मृत्यु भएको जनाइएको छ । बगालेको स्याङ्जास्थित कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यस्तै दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१, सिरकोटका छविलाल पाण्डे, स्याङ्जाको वालिङ नगरपालिका बस्ने गोमता पाण्डे र वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् । घाइतेमध्ये छविलालको स्याङ्जास्थित कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । गोमताको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था मध्यम रहेको छ । बालकृष्णको पनि कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको बताइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।


