पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था मध्यम र एक बालकको अवस्था सामान्य रहेको छ । आज बिहान बल्घादेखि कटौजेतर्फ जाँदै गरेको लु.प्र.०१००१ ह २४४४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–३ निवासी ३८ वर्षीया यमकला खाम्चा गम्भीर घाइते भएकी छन् । त्यस्तै, २४ वर्षीय फर्सबहादुर नेपाली, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु र २५ वर्षीया मञ्जु दर्लामी मध्यम घाइते भएका छन् । ६ वर्षीय इजन खाम्चाको अवस्था सामान्य रहेको छ । अटोमा चालकसहित आठ जना सवार रहेकोमा छ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


