पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले करदातालाई स्थानीयस्तरबाटै सेवा उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (पान) दर्ता सेवा सञ्चालनमा ल्याएको छ । पान दर्ताका लागि जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्दै नगरपालिकाले मंगलबारदेखि आफ्नै कार्यालयबाट सेवा दिन थालेको हो ।
आन्तरिक राजस्व कार्यालय बुटवल, रुपन्देहीसँगको समन्वय तथा सहकार्यमा सुरु गरिएको सेवाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले शुभारम्भ गरे । उनले नगर क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधारणको आवश्यकता र सुविधालाई ध्यानमा राखेर करसम्बन्धी सेवा स्थानीयस्तरमै विस्तार गरिएको बताए । नगर प्रमुख थापाका अनुसार सामान्य करसम्बन्धी कामका लागि समेत सदरमुकाम पुग्नुपर्ने अवस्थाले सेवाग्राहीको समय र खर्च बढ्दै आएको थियो । अब नगरपालिकाबाटै पान दर्ता सेवा उपलब्ध हुने भएपछि नागरिकलाई थप सहज हुने उनको विश्वास छ । सेवा शुभारम्भसँगै नगरपालिकाले व्यक्तिगत तथा व्यावसायिक पान जारी गर्ने, व्यक्तिगत पानलाई व्यावसायिक र व्यावसायिक पानलाई व्यक्तिगत पानमा रूपान्तरण गर्ने, पान दर्तासम्बन्धी विवरण संशोधन गर्ने तथा दर्ता भएका करदाताको अभिलेख राख्नेलगायतका काम गर्ने भएको छ । यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कसम्बन्धी सेवामा समेत सहजीकरण गरिने नगरपालिकाले जनाएको छ ।
स्थानीय तहबाट प्रवाह हुने करदातासम्बन्धी सेवा शुभारम्भ तथा कर शिक्षा कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले संघीयताको मूल मर्मअनुसार नागरिकलाई घरदैलो नजिकबाट सेवा उपलब्ध गराउने प्रयासस्वरूप पान दर्ता सुरु गरिएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले सम्बन्धित कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत चिरञ्जीवी बस्यालले प्रशासनिक सेवालाई नागरिकको पहुँचसम्म पु¥याउने उद्देश्यले स्थानीय तहसँग सहकार्य गरिएको उल्लेख गरे । सोही अवसरमा कर अधिकृत परशुराम पोखरेलले करदातालाई कर शिक्षासम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो । उनले करदाता दर्ता, आय विवरण, पानका प्रकार, अनलाइन दर्ता प्रक्रिया, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायतका विषयमा सहजीकरण गरे । रामपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले नगरपालिकाबाटै पान दर्ताको व्यवस्था हुनु स्थानीय व्यवसायीका लागि सकारात्मक कदम भएको बताए । यसले व्यवसाय सञ्चालन तथा करसम्बन्धी प्रक्रिया पूरा गर्न सहज हुने उनको भनाइ थियो ।
पहिलो सेवाग्राही बनिन् लीला मानन्धर
सेवा शुभारम्भकै दिन रामपुर नगरपालिका–८ स्थित हाम्रो सेखामे फेन्सी पसलकी सञ्चालक लीलाकुमारी मानन्धरलाई पान दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । उनी नगरपालिकाबाट सुरु भएको उक्त सेवाको पहिलो सेवाग्राही बनेकी हुन् । केही महिनादेखि पान दर्ता गर्ने सोचमा रहे पनि विभिन्न कारणले प्रक्रिया अघि बढाउन नसकेको बताउँदै मानन्धरले आफ्नै नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा प्रमाणपत्र प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरिन् । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले स्वागत, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।


