पाल्पा, ‘एउटा हुलाक सञ्जाल, असीम सम्भावनाहरू’ भन्ने नाराका साथ पाल्पामा १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला हुलाक कार्यालय पाल्पाले सेवाग्राहीलाई स्वागत, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सेवानिवृत्त कर्मचारी र सञ्चारकर्मीलाई सम्मान, फरक क्षमता भएका विद्यार्थीलाई खाद्यान्न सहयोग तथा कार्यालय परिसर सरसफाइ गरी दिवस मनाएको हो ।
शुक्रबार जिल्ला हुलाक कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राही तानसेनका राजन न्यौपानेलाई अबिर र खादा लगाएर स्वागत गरिएको थियो । हुलाक सेवाप्रति सेवाग्राहीको विश्वास अभिवृद्धि गर्ने तथा सेवामैत्री वातावरण निर्माण गर्ने उद्देश्यले पहिलो सेवाग्राहीलाई सम्मानपूर्वक स्वागत गरिएको कार्यालयले जनाएको छ । दिवसका अवसरमा पत्रकारिता क्षेत्रमार्फत समाजमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नवजनचेतना राष्ट्रिय दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीलाई सम्मान गरिएको थियो । त्यस्तै, जिल्ला हुलाक कार्यालय तथा विभिन्न अतिरिक्त हुलाक कार्यालयबाट अनिवार्य र स्वेच्छिक अवकाश प्राप्त कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित हुने सेवानिवृत्त कर्मचारीहरूमा जिल्ला हुलाक कार्यालयका पूर्व हुलाक अधिकृत जयदीप पन्थी, हल्कारा शकुन्तला न्यौपाने, दर्लमडाँडा अतिरिक्त हुलाक कार्यालयका रमेश कुमार घर्ती, ठिमुरे अतिरिक्त हुलाक कार्यालयका दुर्गाबहादुर जिसी, सिद्धेश्वर अतिरिक्त हुलाक कार्यालयकी सुन्ता थापा, मुझुङ अतिरिक्त हुलाक कार्यालयकी सुन्तौली पछाई, कोलडाँडा अतिरिक्त हुलाक कार्यालयका मानबहादुर दर्लामी, जिल्ला हुलाक कार्यालयबाट स्वेच्छिक अवकाश प्राप्त लोकबहादुर आले र निस्दी हुलाक कार्यालयबाट स्वेच्छिक अवकाश प्राप्त खिमबहादुर राना रहेका छन् । त्यसैगरी, हुलाक सेवामा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला हुलाक कार्यालयका नायब सुब्बा टंकप्रसाद भण्डारी, रामपुर हुलाक कार्यालयकी खरिदार पुष्पा सलामी, पूर्वखोला हुलाक कार्यालयका हल्कारा फत्तबहादुर सारु, माथागढी हुलाक कार्यालयकी हल्कारा प्रतिभा बस्नेत, जिल्ला हुलाक कार्यालयकी हल्कारा जुही लम्तरी मगर, सिद्धेश्वर अतिरिक्त हुलाक कार्यालयकी हुलाक प्रतिनिधि सुमित्रा विक र दोभान अतिरिक्त हुलाक कार्यालयकी हुलाक प्रतिनिधि गीता शर्मालाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई जिल्ला हुलाक कार्यालयका प्रमुख अर्जुन चौधरीले खादा, दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख चौधरीले कर्मचारीहरूको साथ, सहयोग र प्रतिबद्धताका कारण हुलाक सेवाको प्रभावकारिता बढाउन सफल भएको बताए । उनले समयअनुसार हुलाक सेवालाई थप व्यवस्थित, विश्वसनीय र सेवाग्राहीमैत्री बनाउन कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
प्रमुख चौधरीले हुलाक सेवा केवल चिठीपत्र आदानप्रदानमा मात्र सीमित नरही नागरिकलाई विभिन्न सेवा प्रदान गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास हुनुपर्ने बताए । बदलिँदो प्रविधि र सञ्चारका माध्यमबीच पनि हुलाक सेवाको आफ्नै महत्व रहेको उल्लेख गर्दै उनले सेवाको गुणस्तर सुधार, जिम्मेवारीबोध र सेवाग्राहीप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सेवानिवृत्त हुलाक अधिकृत जयदीप पन्थीले हुलाक सेवाले लामो समयदेखि नागरिक र राज्यबीच सम्पर्क स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले हुलाक सेवाको विकासमा कार्यरत तथा सेवानिवृत्त कर्मचारीहरूको योगदानको उचित मूल्यांकन हुनुपर्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले हुलाक सेवा र सञ्चार क्षेत्रबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना र सञ्चारको महत्वपूर्ण भूमिका हुने बताए । उनले हुलाक सेवाको ऐतिहासिक महत्वलाई जोगाउँदै बदलिँदो समयअनुसार सेवा प्रवाहमा सुधार गर्नुपर्नेमा जोड दिए । सम्मानित व्यक्तिहरूको तर्फबाट धारणा राख्दै हुलाक प्रतिनिधि सुमित्रा विकले हुलाक सेवामा कार्यरत कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएकोमा खुसी व्यक्त गरिन् । उनले कर्मचारीको मेहनत र समर्पणको सम्मानले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न प्रेरणा मिल्ने बताइन् । दिवसकै अवसरमा दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई खाद्यान्न सहयोगसमेत गरिएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले विद्यार्थीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, कार्यालय परिसरको सरसफाइ गरी स्वच्छ र व्यवस्थित कार्यस्थलको सन्देशसमेत प्रवाह गरिएको थियो । हुलाक सेवाको महत्व, कर्मचारीको योगदान र सेवाग्राहीप्रतिको जिम्मेवारीलाई उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रम जिल्ला हुलाक कार्यालयका प्रमुख अर्जुन चौधरीको अध्यक्षता, खरिदार प्रतिभा भट्टराईको स्वागत र सूचना अधिकारी टंकप्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


