पाल्पा,आज अक्टोबर १३ अर्थात् अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने र विपद् जोखिम व्यवस्थापनमा सबै पक्षको सहभागिता बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
प्राकृतिक तथा मानव सिर्जित विपद्का कारण जनधनको क्षति बढ्दै गएको अवस्थामा विपद् आउनुअघि नै आवश्यक तयारी गर्ने, जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने र सुरक्षित व्यवहार अपनाउने विषयमा जनचेतना फैलाउनु यस दिवसको मुख्य उद्देश्य हो । नेपाल भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी तथा डढेलोजस्ता विभिन्न विपद्को जोखिममा रहेको मुलुक हो । विशेषगरी वर्षायाममा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको छ ।
जलवायु परिवर्तनका असरले पनि विपद्को जोखिम थप जटिल बन्दै गएको छ । विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन, सुरक्षित पूर्वाधार निर्माण, जोखिमयुक्त बस्तीको व्यवस्थापन, समुदायस्तरमा तालिम तथा अभ्यास र विपद् प्रतिकार्यका लागि आवश्यक स्रोतसाधनको तयारीमा जोड दिन आवश्यक छ । विपद् व्यवस्थापनमा सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा आम नागरिकको समन्वय र सहकार्य महत्वपूर्ण मानिन्छ । विपद् आएपछि उद्धार र राहतमा मात्र केन्द्रित नभई विपद् आउनुअघि नै जोखिम घटाउने उपाय अपनाउन सके जनधनको क्षति कम गर्न सकिन्छ । अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसले विपद् जोखिम न्यूनीकरणलाई विकास योजना र दैनिक जीवनसँग जोड्दै सुरक्षित तथा उत्थानशील समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

