पाल्पा, यस वर्षको वडा दसैं आइतबारबाट सुरू भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा घर–घरमा दसैंको जमरा राखिएको छ । विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ :४७ बजे जमरा राखिएको हो ।
घर–घरका पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी देवी मानिने दुर्गाको आह्वान गरिएको छ । नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्वक राखेर त्यसमाथि जमरा राखिएको छ । दशैं घरसँगै विभिन्न कोतघरहरुमा पनि जमरा राखिएको छ । पाल्पा र गुल्मीका कोतघरहरुमा आइतबार धुमधामका साथ जमरा राखिएको छ । पाल्पाका रामपुर नगरपालिका–९, जब्गादीस्थित अग्लोडाँडाको कोतघर, मुझुङको कालिका, छहरा, बन्दीपोखराको लिपिनदेवी, भैरवस्थान, निशान भगवती, भुसालडाँडा, ताँहु, वीरकोट, सिलुवा, गल्धा, मस्याम, देवीनगर, लगायतका देवीका मन्दिर, कोतघरमा घटस्थापना गरिएको छ । यस्तै गुल्मीका विभिन्न कोतहरुमा पनि विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । जिल्लाका मुख्य कोतहरु इस्माकोत, धुर्कोटकोत, चन्द्रकोटकोत, मुसिकोट कोतलगायतका शक्तिपिठहरुमा घटस्थापनाका दिनदेखि पण्डित र पुजारीहरु १० दिनसम्म लगातार बस्ने गर्दछन् । मुसिकोट कोतमा पुजारीको रुपमा ठकुरी र सारु समुदायबाट अनिवार्य दुई जना चाहिन्छ भने पण्डितमा कुलपुज्ये पंगेनी र घिमिरे समुदाय चाहिने परम्परा रहेको छ । सप्तमीको दिन थापा समुदायको अनिवार्य उपस्थितिमा कुर्घाको बेलटारीबाट फूलपाती ल्याएपछि मैदानमा राखेर बाजागाजासहित डोलामा राखेर कोतमा भित्र्याउने प्रचलन रहेको छ । नवमीमा मुसिकोट कोतमा बिशेष मेला लाग्ने गर्दछ ।
.jpg)
इस्माकोतमा पनि घटस्थापनादेखि पूजा सुरु गरिन्छ । अर्याल परिवारका पण्डित, पुजारीमा खड्का अनिवार्य छ । सहायक पण्डितहरु दुई क्षेत्री पनि गरेर सात जनाले १० दिन इस्मा कोतमा नियमति पूजा व्यवस्थापनको काम गर्ने गर्दछन् । इस्मामा पनि रतन पाध्यका सन्तानहरुबाट फुलपाती ल्याउन रातामाटा जाने र बेलसहितको फलपाती इस्मा मैदानमा ल्याएपछि छत्र मन्दिरबाट खड्ग भगवानसहित बाजागाजासहित इस्माकोत जाने परम्परा रहेको छ । घटस्थापनाको दिन बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौं रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अड्ढुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेलो जमरा पनि ग्रहण गरिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतिकका रुपमा पूजाराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।


