पाल्पा, बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा पाल्पाका विभिन्न शक्तिपीठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । नवरात्र प्रारम्भ भएसँगै जिल्लाका देवी मन्दिरहरूमा बिहानैदेखि पूजापाठ, दर्शन तथा भजनकीर्तन गर्ने भक्तजनको भीड लागेको हो ।
घटस्थापनाका दिन भक्तजनहरू बिहानै नदी, तलाउ, धारा तथा कुवामा स्नान गरी चोखो वस्त्र धारण गरेर देवी दुर्गाको पूजा–आराधना र दर्शनका लागि मन्दिर पुगेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका देवी भगवतीका मठमन्दिर सरसफाइ गरी नित्य पूजाआराधनासमेत सुरु गरिएको छ । शुभसाइतमा घर–घर तथा देवीका मन्दिरमा जमरा राखेर घटस्थापना गरिएको नवरात्र सुरु भएसँगै पाल्पाका देवी मन्दिर परिसरमा भजनकीर्तन, दुर्गा तथा चण्डीपाठ र सामूहिक देवी स्तुतिका कार्यक्रम सञ्चालन हुन थालेका छन् । यसले धार्मिक आस्था र परम्परालाई निरन्तरता दिनुका साथै स्थानीय सांस्कृतिक पहिचान संरक्षणमा समेत योगदान पुर्याएको छ । तानसेनस्थित भगवती मन्दिर परिसरमा गुञ्जिने परम्परागत नेवारी भाषाको डाफा भजनले विशेष आकर्षण थपेको छ । लोपोन्मुख अवस्थामा पुगेको मौलिक डाफा भजनको संरक्षणमा पाका पुस्तासँगै युवाहरू पनि सक्रिय हुन थालेका छन् । तानसेन भजन संरक्षण समिति र भगवती भजन समूहले नवरात्र अवधिभर नियमित रूपमा बिहान डाफा भजन प्रस्तुत गर्दै आएका छन् । पुस्तान्तरण हुँदै आएको यस परम्पराले नेवारी कला, संस्कृति र सांगीतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । तानसेनको भगवती मन्दिर, भैरवस्थानको भैरव मन्दिर, रम्भाको रम्भादेवी मन्दिर, दर्लामको महाकाली मन्दिर, बगनासकाली मन्दिर, भुवनपोखरीको रैनादेवी मन्दिर तथा बतासेको कालिका मन्दिरलगायतका शक्तिपीठमा दसैँको समयमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

पाल्पामा नवरात्रका अवसरमा मन्दिर परिसरमा विभिन्न समूहले सामूहिक रूपमा देवी स्तुति, भजनकीर्तन तथा धार्मिक पाठ गर्ने परम्परा अझै कायम छ । जिल्लाका अधिकांश देवी, भगवती तथा दुर्गाका मन्दिर डाँडाका टाकुरा र अग्ला स्थानमा निर्माण गरिएका छन् । यस्ता मन्दिरहरूमा नवरात्र सुरु भएसँगै दैनिक पूजाआराधना र धार्मिक गतिविधि बढ्ने गरेका छन् । घटस्थापनासँगै सुरु भएको नवरात्रले पाल्पामा धार्मिक वातावरणलाई उल्लासमय बनाएको छ । देवीको आराधना, परम्परागत भजनकीर्तन र सांस्कृतिक गतिविधिमार्फत स्थानीयवासीले दसैँको धार्मिक महत्व र मौलिक परम्परालाई निरन्तरता दिइरहेका छन् ।


