Shittalpati
बडा दसैं सुरु, आज घटस्थापना

पाल्पा, नेपालीहरूको महान् चाड विजया दशमी अर्थात् बडा दसैं आइतबार (आज) देखि  सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । यो पर्व १५ दिनसम्म धूमधामका साथ मनाइन्छ । 

पहिलो दिन घरका पूजाकोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । आजको दिन जौ र मकै जमराका लागि रोपिन्छ जुन देवीको अंग मानिन्छ र प्रसादका स्वरुप टीकाको दिन ग्रहण गरिन्छ । टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने चलन छ । जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतिक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाको उपलक्ष्यमा दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिको पूजा आरम्भ हुन्छ ।  नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादसैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैंघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुति पाठ गरिन्छ । यस अवसरमा देशभरका शक्तिपीठहरूमा पूजाआजाका लागि भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ । 


 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update