पाल्पा, आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।
यस दिवसले मानसिक स्वास्थ्यको महत्त्वबारे सचेतना फैलाउनुका साथै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूलाई सहयोग, सम्मान र उचित उपचार उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ । मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण भए पनि समाजमा अझै मानसिक स्वास्थ्य समस्यालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । तनाव, चिन्ता, डिप्रेसन तथा अन्य मानसिक समस्याका कारण धेरै व्यक्ति प्रभावित भइरहेका छन् । यस्ता समस्याबारे खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु र आवश्यक परे मनोपरामर्श तथा स्वास्थ्य सेवा लिन प्रोत्साहित गर्नु दिवसको महत्वपूर्ण उद्देश्य हो । विशेषगरी बालबालिका, किशोरकिशोरी, युवा तथा ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याउँदै आएका छन् । परिवार, विद्यालय, कार्यस्थल र समुदायबाट भावनात्मक सहयोग प्राप्त भएमा मानसिक स्वास्थ्य समस्याको पहिचान तथा व्यवस्थापनमा सहयोग पुग्न सक्छ । मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएमा लाज वा डर मान्नुभन्दा सम्बन्धित स्वास्थ्यकर्मी तथा मनोपरामर्शदातासँग सहयोग लिनु आवश्यक छ ।
मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्दै सबैका लागि सहज, सुलभ र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइँदै आएको छ । विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्यलाई व्यक्तिगत विषयका रूपमा मात्र नभई सार्वजनिक स्वास्थ्य र सामाजिक सरोकारको महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने सन्देश दिएको छ । मानसिक स्वास्थ्यप्रति सचेत र संवेदनशील समाज निर्माण गर्न सबैको सहकार्य आवश्यक देखिन्छ ।


