पाल्पा, आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँंदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउँदै आएको हो ।
आजको दिन संसारभर विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ । ज्ञानको ज्योति झर्ने, विश्वमा दक्ष, असल जनशक्ति उत्पादन गर्ने शिक्षकलाई सधैं सम्मान गर्नुपर्दछ । तर पछिल्लो समय शिक्षकको योगदान, भूमिका र महत्वलाई बिर्सन वा ओझेलमा पार्न थालिएको छ । शिक्षकले पाउनुपर्ने जति कदर पाएका छैनन् । शिक्षकको कदर गर्ने संस्कृति कसरी विकास गर्ने भन्ने विषय अहिले टड्कारो बनेको छ । दिवसका अवसरमा विद्यालय तथा शैक्षिक संस्थाहरूमा विभिन्न कार्यक्रम, अन्तरक्रिया, सम्मान तथा सचेतनामूलक गतिविधि आयोजना गरिन्छ । नेपालमा पनि शिक्षक दिवसका अवसरमा शिक्षकको भूमिका र योगदानको चर्चा गर्दै विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । विद्यार्थीको ज्ञान, सीप, क्षमता र व्यक्तित्व विकासमा शिक्षकको महत्वपूर्ण भूमिका रहने भएकाले गुणस्तरीय शिक्षाका लागि सक्षम र प्रेरित शिक्षक आवश्यक रहेको शिक्षाविद्हरू बताउँछन् ।
शिक्षकहरूले भने बदलिँदो शैक्षिक परिवेशअनुसार आफूलाई अद्यावधिक गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् । साथै शिक्षकको पेशागत सुरक्षा, उचित पारिश्रमिक, तालिम तथा सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । दिवसले शिक्षकको योगदानलाई सम्झनुका साथै सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षकलाई आवश्यक स्रोत, अवसर र सम्मान उपलब्ध गराउनुपर्ने सन्देशसमेत दिने गरेको छ ।


