पाल्पा, साहित्यकार आर. बी. निश्चलको सातौँ कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ विमोचन गरिएको छ । त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पाको नेपाली विभागको आयोजनामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले कविता संग्रहको विमोचन गरेका हुन् ।
हाल शिक्षण पेसामा रहेका निश्चलले त्रिभुवन बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्दा गर्दै आफ्नो पहिलो कविता संग्रह प्रकाशनमा ल्याएका थिए । त्यसयता उनले निरन्तर साहित्य सिर्जनामा सक्रिय रहँदै सातौँ कविता संग्रहसम्मको यात्रा तय गरेका हुन् ।
कविता संग्रह विमोचन गर्दै क्याम्पस प्रमुख डा. पन्थले निश्चलका कवितामा मानवतावाद, जीवनबोध, अस्तित्ववादी चेतना तथा सीमान्तकृत समुदायका पीडा र मर्म प्रतिबिम्बित हुने बताए । उनका हालसम्म प्रकाशित कविता संग्रह फरक धार, शैली र विषयवस्तुमा केन्द्रित रहेकाले पाठकले प्रत्येक संग्रहमा फरक स्वाद पाउने गरेको उनले उल्लेख गरे । निश्चलले सानै उमेरदेखि कवितामार्फत सामाजिक रूपान्तरण, सामाजिक विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै आएको पनि डा. पन्थले बताए । कविता संग्रह ‘ब्रह्माण्डको अन्त्य’ माथि माण्डव्य बहुमुखी क्याम्पसका प्राध्यापक प्रेमराज खराल र त्रिभुवन बहुमुखी क्याम्पस नेपाली विभागकी प्राध्यापक प्रतिभा पौडेलले समीक्षा तथा टिप्पणी गरेका थिए । समीक्षकद्वयले कविता संग्रह उत्कृष्ट रहेको उल्लेख गर्दै मानव जीवनमा नकारात्मक सोच र भावनाको अन्त्य गरी सकारात्मक विचार र अस्तित्वलाई क्रियाशील बनाउनुपर्ने सन्देश संग्रहले दिएको बताए । उनीहरूका अनुसार संग्रहमा मानवतावाद, मानवीय विचार, अस्तित्वको संघर्ष, विद्रोह, आन्दोलन र त्यसबाट सिर्जित पीडाका साथै प्रकृतिको अस्तित्वविपरीत मानवीय गतिविधिका कारण उत्पन्न विपत्तिले मानव जातिमा पारेको प्रभावलाई समेटिएको छ । कवितामा अझै विद्यमान जातीय विभेद, गाउँघरप्रतिको माया, बाल्यकालका यथार्थ तथा जीवनका विभिन्न चरित्र र अवस्थालाई समेत प्रस्तुत गरिएको समीक्षकहरूले बताए । उनीहरूले ‘ब्रह्माण्डको अन्त्य’ अस्तित्व र बीउ–बीजनको विषयवस्तुमा केन्द्रित रहेको टिप्पणी गरे । कार्यक्रममा कवि आर. बी. निश्चलले एक दिन ब्रह्माण्डको अन्त्य हुने भएकाले मानव जीवनको अन्त्य पनि स्वाभाविक रहेको भन्दै सकारात्मक भाव र मानवीय अस्तित्वको संरक्षणमा कविता केन्द्रित रहेको बताए । समाजमा विद्यमान विकृति र विसंगतिलाई व्यङ्ग्यात्मक रूपमा कवितामार्फत प्रस्तुत गरिएको उनले स्पष्ट पारे । १५७ पृष्ठको ‘ब्रह्माण्डको अन्त्य’ कविता संग्रहमा ७२ वटा कविता समावेश छन् । विमोचन कार्यक्रममा तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेशकुमार अर्याल, साहित्यकार रामप्रसाद अर्याल र मन गहिरेलगायतले कविता संग्रहबारे चर्चा गरेका थिए । कार्यक्रम त्रिभुवन बहुमुखी क्याम्पस नेपाली विभागका अध्यक्ष महेन्द्र पन्थीको अध्यक्षता, साहित्यकार डा. शंकरप्रसाद गैरेको स्वागत, नेपाली विभागका सदस्य चतुर्भुज नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।


