Shittalpati
सोह्रश्राद्धको महिमा

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध आइतबारदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ । यो २४ गते समापन हुँदै छ । सोह्रश्राद्धको वैदिक संस्कृतिमा विशेष महत्व छ । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यु तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारिक रुपमा शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ ।

सूर्य कन्या राशीमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्या राशीमा सूर्य सरेको बखत दिवंगत पितृहरूलाई पिण्डदान नगर्ने पुत्रहरू पापी हुन्, कृतध्न हुन् भनेर बताइएको छ । गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्नेका लागि उसका धन र सम्पत्ति, बैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरूको श्वास–प्रश्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरण पोषणमात्र खोज्नु राम्रो हुँदैन । यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु बाबुको या नसके बाजेको तिथिमा लिइनु राम्रो मानिन्छ । सुतक, जुठो वा असर्धो समय परे एकादशी या औंंसीमा गरिनुपर्छ । रोकिएकाले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको औंसीमा गर्न पनि सकिन्छ । जुन पिता माताबाट हामीलाई यो शरीर मिल्यो, लालन पालन भयो मरेपछि उनीहरूका लागि कुनै विशेष सत्कार गर्न सकेनौं भने त्योभन्दा ठूलो कृतघ्नता अरू केही हुन सक्दैन । मातापिताको ऋण सय वर्ष भोग्न सयौं जन्मसम्म पनि तिर्न सकिँदैन । यसर्थ उनीहरूको नाममा दान गर्दा पितृहरुको आत्मा तृप्त हुने मान्यता रहेको छ । सोह्रश्राद्ध केवल दिवंगत पितृहरूको सम्झना गर्ने धार्मिक अवसर मात्र होइन, यो परिवार, संस्कार र पुस्ताबीचको सम्बन्धलाई पुनः स्मरण गराउने महत्वपूर्ण परम्परा पनि हो । आफ्ना पुर्खाले परिवार र समाजका लागि गरेको योगदान सम्झनु, उनीहरूबाट प्राप्त मूल्य–मान्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्नु र परिवारका सदस्यबीच आत्मीयता बढाउनु यस परम्पराको महत्वपूर्ण पक्ष हो ।

तर  आजको पुस्ता शिक्षा, रोजगारी र जीवनशैलीका कारण भौगोलिक रूपमा टाढिँदै गएको छ । यस्तो अवस्थामा परम्परालाई केवल कर्मकाण्डका रूपमा निरन्तरता दिनुभन्दा त्यसको मूल भावना बुझ्नु अझ आवश्यक हुन्छ । श्राद्धका नाममा हुने अनावश्यक खर्च, देखासिकी र सामाजिक दबाबलाई कम गर्दै श्रद्धा, स्मृति र कृतज्ञतालाई केन्द्रमा राखिनुपर्छ । पितृप्रति सम्मान व्यक्त गर्ने नाममा हुने खर्चले आर्थिक रूपमा कमजोर परिवारलाई बोझ थप्नु उचित हुँदैन । धर्म र संस्कार मानिसको जीवन सहज बनाउने माध्यम हुनुपर्छ, बोझ बनाउने होइन । सोह्रश्राद्धको सार श्रद्धामा छ, प्रदर्शनमा होइन । समयसँगै विधि र व्यवहारमा परिवर्तन आए पनि आफ्ना पुर्खाप्रतिको सम्मान, कृतज्ञता र पारिवारिक मूल्य जोगाइराख्न सकिए सोह्रश्राद्धको सांस्कृतिक महत्व अझ जीवन्त रहिरहनेछ ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update