Shittalpati
सूचनाको पहुँच सबैमा पुर्‍याऔं

सूचना आजको समाजको शक्ति हो ।  मानिसले सही सूचना पाएर आफ्नो धारणा निर्माण गर्छ, निर्णय लिन्छ र सामाजिक, आर्थिक तथा राजनीतिक जीवनमा सक्रिय सहभागिता जनाउँछ । यही तथ्यलाई आत्मसात् गर्दै हरेक वर्ष सेप्टेम्बर २८ मा अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस मनाइन्छ ।

आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो । संयुक्त राष्ट्र संघीय महासभाको बैठकले भने सन् २०१९ अक्टोबर १५ का दिन यसलाई पारित गरेको हो । यस दिवसले प्रत्येक नागरिकलाई सार्वजनिक महत्वका सूचनामा सहज, समान र विश्वसनीय पहुँच हुनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाउँछ।सूचनाको पहुँच लोकतन्त्रको आधारभूत पक्ष हो । राज्यका कामकारबाही, सार्वजनिक स्रोतको उपयोग, नीति–निर्णय र सेवा प्रवाहबारे नागरिकले जानकारी पाउन सके मात्र सरकारलाई जवाफदेही बनाउन सकिन्छ । सूचना लुकाउने वा सीमित व्यक्तिको पहुँचमा मात्र राख्ने प्रवृत्तिले पारदर्शिता कमजोर बनाउँछ भने खुला सूचनाले नागरिकको सहभागिता र निगरानीलाई बलियो बनाउँछ । तर सूचना उपलब्ध हुनु मात्र पर्याप्त छैन । सूचना सही, विश्वसनीय, समयमै र सबैका लागि बुझ्न सकिने हुनुपर्छ । डिजिटल प्रविधिको विस्तारसँगै सूचनाको पहुँच पहिलेभन्दा व्यापक बने पनि डिजिटल विभाजन, इन्टरनेटको असमान पहुँच, भाषागत कठिनाइ, अशक्त व्यक्तिका लागि पहुँचयोग्य सामग्रीको अभाव तथा गलत सूचना आज पनि चुनौतीका रूपमा छन् ।

प्रविधिमा पहुँच भएका र नभएका नागरिकबीचको दूरी घटाउनु अब राज्य तथा सम्बन्धित निकायको महत्वपूर्ण जिम्मेवारी हो । नेपालको सन्दर्भमा पनि सार्वजनिक निकायले नागरिकलाई सूचना उपलब्ध गराउने संस्कारलाई अझ बलियो बनाउन आवश्यक छ । सूचनाको हकलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा प्रभावकारी बनाउनुपर्छ । सरकारी कार्यालयमा सूचना अधिकारीको भूमिका प्रभावकारी बनाउने, सार्वजनिक दस्तावेजलाई डिजिटल माध्यमबाट सहज रूपमा उपलब्ध गराउने, स्थानीय भाषामा सूचना प्रवाह गर्ने तथा नागरिकले माग गरेको सूचना सरल र समयमै उपलब्ध गराउने व्यवस्था सुदृढ हुनुपर्छ । त्यसैगरी सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ । सूचनाको पहुँच बढ्दै जाँदा अपुष्ट सूचना, भ्रामक सामग्री र गलत समाचार फैलिने जोखिम पनि बढेको छ । त्यसैले सूचना पाउने अधिकारसँगै त्यसको सत्यता जाँच्ने, स्रोत पहिचान गर्ने र जिम्मेवारीपूर्वक सूचना साझा गर्ने संस्कार विकास गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस केवल एउटा औपचारिक दिवस होइन, यो सूचना नागरिकको अधिकार हो भन्ने प्रतिबद्धता दोहो¥याउने अवसर हो । लोकतन्त्रलाई बलियो बनाउन सूचना खुला हुनुपर्छ, शासनलाई पारदर्शी बनाउन नागरिक जानकार हुनुपर्छ र समावेशी समाज निर्माण गर्न सूचनाको पहुँच सबैसम्म पु¥याउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update