Shittalpati
तानसेनले किन ‘इग्नोर’ गर्छ ? : अज्ञानता, नियत कि सम्भावना नचिन्ने कमजोरी

पदम न्यौपाने 
तानसेन एउटा शहर मात्र होइन । यो त इतिहासका सबै कालखण्ड प्राचिन, मध्य र आधुनिक, सबैको समिश्रण हो । यो इतिहास हो, संस्कृति हो, पहिचान हो, सम्भावना हो र एउटा लामो सभ्यताको स्मृति हो । तर आज यहाँ एउटा गम्भीर प्रश्न उठिरहेको छ,तानसेनले आफ्नै सम्भावनालाई किन इग्नोर गरिरहेको छ ?
सामान्यतयाः हामीले इग्नोर गर्नु भन्नाले यहाँ कसैले कसैलाई व्यक्तिगत रूपमा बेवास्ता गर्नु भन्ने बुझिन्छ । मानिसले ‘इग्नोर’ गर्ने कारण, उसको अज्ञानता, नियत वा सम्भावना नचिन्ने कमजोरीले हो ।  यसो हो भने के यो इग्नोरेन्स, अज्ञानता हो ? के यो नियत वा जानाजानी बेवास्ता गर्ने प्रवृत्ति हो ? वा “म गर्न सक्दिनँ भने अरूले पनि गर्न सक्दैनन” भन्ने मानसिकता हो ? र अर्को महत्वपूर्ण चरित्र भनेको अहंकार, घमण्ड, दम्भ र आफूलाई अरु भन्दा जान्ने र ठूलो ठान्ने प्रवृत्ति र व्यवहार हो ।  तर यहाँ त्यसो भनिएको होईन । जिज्ञासा अलि गहिरो छ, के तानसेनले आफूभित्र भएका अवसर, सम्पदा, बजार, पर्यटन, मानवस्रोत र आर्थिक सम्भावनालाई पर्याप्त रूपमा देख्न, बुझ्न र उपयोग गर्न सकेको छैन ? भन्ने हो । अबको ज्वलन्त प्रश्न यसको गम्भिर अध्ययन हुन सक्छ त ? यो प्रश्नले तानसेनको वर्तमान मात्र होइन, भविष्यसँग जोडिएका विविध सम्भावनाको प्रश्फुटनलाई सम्बोधन गरेको छ । हजारौं नगरवासीको चाहानालाई प्रतिविम्वित गर्ने प्रश्न हो ।  अब विषय प्रवेश र उल्लेखित जिज्ञासाको विश्लेषण गरौं । तानसेनले इग्नोर गर्छ कि तानसेनलाई नै इग्नोर गरिएको छ ? यो जिज्ञासालाई सबैभन्दा पहिले प्रश्न उल्ट्याएर हेरौं । तानसेनले आफ्नो सम्भावनालाई इग्नोर गरेको हो कि राज्य, निजी क्षेत्र, लगानीकर्ता, विज्ञ, युवा र स्वयं तानसेनवासीले तानसेनलाई पर्याप्त रूपमा बुझ्न नसकेका हुन् ?

तानसेनको विगत अत्यन्त वजपूर्ण र गौरवपूर्ण छ । तर मुख्यकुरा इतिहासमा गौरव गर्नु र इतिहासलाई भविष्यको पूँजी बनाउनु फरक कुरा हो ।
हामी “तानसेन जिवन्त ऐतिहासिक शहर हो” भन्छौँ । प्रकृति, संस्कृति, इतिहास र सम्पदाले परिपूर्ण नगर हो । तर यस इतिहासलाई आर्थिक गतिविधिसँग कसरी जोड्ने भन्नेमा कमजोर छौं , यो सत्य पक्ष हो । यसैगरी हामी “तानसेन सुन्दर छ” भन्छौँ । तर त्यो सुन्दरतालाई पर्यटकीय अनुभवमा कसरी बदल्ने भन्नेमा अलमलिइरहेका छौँ । हामी “पुरानो बजार हो राम्रो छ” भन्छौं । तर बजारको मौलिकता जोगाउँदै आधुनिक व्यापार कसरी विकास गर्ने भन्नेमा स्पष्टता देखाउन सकिरहेका छैनौ भन्ने देखाइरहेका छौं । हामीसँग सम्पदा छ, संस्कृति छ, प्रकृति छ, सीप छ, मानवस्रोत छ । तर के यी सबैलाई एउटै विकास रणनीतिमा जोड्ने दृष्टिकोण हामीसँग छ ? भन्ने जिज्ञासा जगाइ रहेका छौं । हामीसँग बजारको संरचना, वस्ति, घर र सम्पदाहरु मध्यकालिन छन् तर यि सबै हाम्रा सम्पति हुन् भन्छौं तर हामीले यी नै सम्पदाहरु र सम्पदा क्षेत्र अतिक्रमणमा मुखदर्शक बन्छौं र सहयोगी समेत बन्छौं । यी सबै व्यवहार इग्नोर गरिएका उदाहरण हुन् । 

इग्नोर गरिनुका कारण  
पहिलो कारण अज्ञानता नै हो । कुनै सम्भावनाको मूल्य थाहा नहुनु पनि त्यसलाई इग्नोर गर्नु हो । यदि कसैलाई सम्पदाकोको आर्थिक, सामाजिक र सांस्कृतिक मूल्य नै थाहा छैन भने उसले पुरानो घरलाई केवल “जीर्ण भवन” देख्न सक्छ । तर जानकार व्यक्तिले त्यही घरमा, इतिहास, वास्तुकला, पर्यटन,होटल, हेरिटेज र अर्वन होमस्टे, संग्रहालय, कला, स्थानीय उत्पादन, रोजगारी देख्न सक्छ  त्यसैले एउटै सम्पदा कसैका लागि पुरानो संरचना हुन्छ भने कसैका लागि भविष्यको आर्थिक अमूल्य सम्पत्ति लाग्छ ।  यसर्थ तानसेनको एउटा चुनौती यही हो हामीसँग सम्भावना छ, तर सम्भावनाको मूल्याङ्कन गर्ने सामूहिक क्षमता अहिले सम्म पर्याप्त विकसित भएको छैन्  । अब अर्को कारण “म गर्न सक्दिनँ, त्यसैले अरूले पनि गर्न सक्दैनन्” भन्ने मानसिकता हो । यसलाई गम्भीर समस्याको रुपमा लिइन्छ । विकासको अभ्यास र परिभाषामा एउटा महत्वपूर्ण कुरा ध्यान पुर्‍याउन जरुरी हुन्छ की, आफूले गर्न नसक्नु र काम नै गर्न नसक्नु एउटै कुरा होइन । अब यसलाई यसरी पनि हेर्न सकिन्छ,: 
नगरपालिकाले कुनै परियोजना आफैँ गर्न नसक्ला । स्थानीय व्यवसायीले ठूलो लगानी गर्न नसक्ला । कुनै व्यक्तिसँग प्राविधिक ज्ञान नहोला । कुनै संस्थासँग पर्याप्त बजेट पनि नहोला वा कुनै प्रवृतिले आफ्नो क्षमता नभएको कारण अर्को कुनै कोहीको क्षमता पनि हुँदैन भन्ने लाग्न सक्छ । तर त्यसको अर्थ अरू व्यक्तिले पनि गर्न सक्दैनन् भन्ने चाही होइन । 
यस्तो अवस्थामा यही ठाउँमा सार्वजनिक निजि साझेदारी, सहकारी, समुदाय, निजी लगानी, विश्वविद्यालय, गैरसरकारी संस्था, विकास साझेदार र विज्ञहरूको भूमिका आउँछ । यस्तो अवस्थामा तानसेनले एउटा नयाँ सोच विकास गर्नुपर्छ, “म गर्न सक्छु कि सक्दिनँ ?” भन्नु भन्दा पहिले “यो काम गर्न सक्ने व्यक्ति वा संस्था को हो ?” भनेर खोज्न सक्नु पर्दछ । यही सोचले शहरको विकासको ढोका खोल्न सक्छ । अहिलेको विकास अभ्यासमा यही पक्ष प्रमाणित भैसकेको छ ।  अर्को कारण हो तानसेनले बजार बुझ्दैन कि बजार बदलिएको बुझ्दैन ? आजको यो वैश्विक परिवेशमा बजार पहिलेको जस्तो छैन । पहिले बजारको परिभाषामा भन्नाले पसल, ग्राहक र किनबेच बुझिन्थ्यो । आज बजार भनेको,अभ्यासं +अनुभव+उपलव्ध श्रोत+ब्रान्ड+डिजिटल पहुँच+गुणस्तर+विश्वास+कथा+सुविधा हो ।

तानसेनको पुरानो बजार आफैँमा एउटा प्रकृति,संस्कृति र सम्पदामा ब्रान्ड हो । तर त्यसका लागि पुरानो बजारलाई केवल व्यापारिक क्षेत्र मात्र होइन, जिवन्त सम्पदायुक्त बजारका रूपमा विकास गर्न सकिने सवल आधारहरु भएको बजार हो ।  यहाँ केही महत्वपूर्ण जिज्ञासाहरुलाई ध्यानदिन जरुरी छ त्यो भनेको पर्यटक तानसेन आएर के अनुभव गर्छ ?  उसले पुरानो गल्ली देख्छ कि एउटा कथा अनुभव गर्छ ? उसले पसल देख्छ कि स्थानीय जीवनशैली अनुभव गर्छ ? उसले खाना खान्छ कि तानसेनको स्वाद सम्झेर फर्किन्छ ? उसले ढाका किन्छ कि “तानसेनको कथा” लिएर फर्किन्छ ? के करुवा मात्र किन्छ वा हेर्छकी अनूभूति गर्छ ?  यही फरक आधुनिक पर्यटन बजारको आधार हो । यसको सम्वोधनमा हाम्रो चासोको स्तर मापन जरुरी छ ।  अर्को महत्वपूर्ण पक्ष भनेको सम्पदाको मूल्य नबुझ्नु ,ठूलो अवसर गुमाउनु हो । सम्पदा विकासको विरोधी होइन । सही ढंगले व्यवस्थापन गरिएको सम्पदा नै विकासको आधार बन्न सक्छ । तानसेनका पुराना घर, गल्ली, चोक, मन्दिर, परम्परा, जात्रा, ढाका, करुवा, स्थानीय खानपान, वास्तुकला र सांस्कृतिक अभ्यासलाई एकीकृत गरेर सम्पदामा आधारित अर्थतन्त्रको अवधारणा निर्माण गर्न सक्नु पर्दछ । सम्पदा संरक्षणको अर्थ सबै पुराना कुरा यथावत् राखेर शहरलाई संग्रहालय मात्र बनाउनु होइन । यसका लागि सम्पदा बचाउने+आधुनिक सुविधा दिने+स्थानीय अर्थतन्त्र चलायमान बनाउने हो । यदि एउटा पुरानो घरलाई होटल, जेरिटेज होमस्टे र क्याफे, संग्रहालय, कला केन्द्र वा सांस्कृतिक केन्द्रका रूपमा पुनःप्रयोग गर्न सकिन्छ भने त्यो सम्पदा पनि बच्ने र अर्थतन्त्र पनि चलायमान हुन्छ । त्यसैले प्रश्न “पुरानो जोगाउने कि नयाँ बनाउने ?” भन्ने मात्र होइन । यसको सही प्रश्न हो, “पुरानोलाई जोगाउँदै नयाँ अवसर कसरी सिर्जना गर्ने ?” भन्ने हो र हुनु पर्दछ । 

सम्पदामा आधारित पर्यटनको मूल्य नबुझ्नु पनि अर्को कारण हो । बुझ्नु भनेको जान्नु वा जानकारी राख्नु होइन, यो त व्यवहारमा देखिनु पर्दछ । तानसेनमा पर्यटनको सम्भावना छ भनेर मात्र पुग्दैन । पर्यटक किन तानसेन आउने ? कति दिन बस्ने ? के हेर्ने ? के खाने ? के किन्ने ? कहाँ बस्ने ? के अनुभव गर्ने ? पुनः वा फेरी किन आउने ? उल्लेखित यस्ता प्रश्नको उत्तर खोज्नुपर्छ । तानसेनलाई केवल “एक रात बस्ने ट्रान्जिट  शहर” बनाउने कि गन्तव्य शहर बनाउने ? यो एउटा रणनीतिक प्रश्न मात्र होइन अत्यन्त महत्वपूर्ण पनि हो ।  तानसेन–रानीमहल, श्रीनगर, रिडी, गुफाचौर, पुरानो बजार, मन्दिर, संस्कृति, ढाका, करुवा, प्रकृति, पदयात्रा, स्थानीय खानपान, योग–वेलनेस, ग्रामीण अनुभवलगायतलाई जोडेर बहुआयामिक पर्यटनको उत्पादन बनाउन सकिन्छ । पर्यटकलाई “एक पटक हेर्न जाने ठाउँ” मात्र होइन, बस्न, अनुभव गर्न, खर्च गर्न र सम्झना लिएर फर्कन चाहने शहर बनाउनुपर्छ । इग्नोर गर्नुको अर्को मुख्य कारण आफ्ना नगर मानवश्रोतको सम्भावना नचिन्नु वा चिन्न नखोज्नु हो ।

 कुनै शहरको सबैभन्दा ठूलो सम्पत्ति भवन होइन । त्यहाँको मानिस हो । तानसेनका युवाहरू, व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, इन्जिनियर, कलाकार, उद्यमी, विदेशमा रहेका तानसेनवासी, विभिन्न क्षेत्रमा सफल व्यक्तिहरू लगायत यी सबै शहरका सम्भावित पूँजी हुन् । तर हामीले मानवस्रोतलाई अक्सर “मतदाता”, “करदाता” वा “स्थानीय नागरिक”का रूपमा मात्र हेर्छौँ । यो हेराइको अब दृष्टिकोण बदल्नुपर्छ ।  कसैसँग पैसा छ । कसैसँग ज्ञान छ  । कसैसँग प्रविधि छ । कसैसँग सम्पर्क छ । कसैसँग व्यवस्थापन क्षमता छ । कसैसँग सिर्जनशीलता छ । यस्ता क्षमता सबैलाई जोड्न सकियो भने मानवपूजी संयन्त्र वा सञ्जाल बन्न सक्छ । यो नगरको थूलो पूँजि हो भन्ने बुझ्नु पर्दछ न की यस्ता पूँजीलाई हेरेसमेन्ट गर्ने, अवमूल्यन गर्ने, नजरअन्दाज गर्ने जस्ता अहंकारी र दम्भ मिश्रित नकारात्मक स्वभाव प्रदर्शन नगर्नु बेस हुन्छ ।  अब तानसेनले आफैसँग सोध्नुपर्छ, “हामीसँग के छैन् ?” भन्दा पहिले “हामीसँग के–के छ ?” । यो प्रश्नले विकासको दिशा बदल्न सक्छ । विकासको दिशा बदल्ने दुरगामी सोच नै अहिलेको प्रमुख आवश्यकता हो । 

नहुने, गर्न नखोज्ने र अरुलाई अस्विकार गर्ने भन्ने कुरा अज्ञानताले मात्र हुँदैन । नियतको प्रति पनि प्रश्न उठ्छ ।  कहिलेकाहीँ सम्भावना देखेर पनि प्राथमिकता नदिनु नियतको प्रश्न बन्न सक्छ । तर यसलाई प्रमाणबिना व्यक्ति विशेषमाथि आरोप लगाउने विषय बनाउनु हुँदैन । बरु यसलाई संस्थागत रूपमा प्रश्न गर्नुपर्छ की निर्णय कसरी हुन्छ ? प्राथमिकता कसरी निर्धारण हुन्छ ? परियोजना किन छनोट हुन्छ ? लगानी किन आउँदैन ? निजी क्षेत्रसँग सहकार्य किन हुँदैन ? विज्ञको सुझाव किन प्रयोग हुँदैन ? पुरानो शहरको दीर्घकालीन योजना कहाँ छ ? नगरवासीले जानकारी किन प्राप्त गर्न सक्दैनन् ? पर्यटनबाट स्थानीय अर्थतन्त्रमा कति योगदान भयो ? मानवस्रोतलाई पहिचान गरी विकासमा कसरी जोडिएको छ ? यस्ता किसिमका पारदर्शी प्रश्नले नियतभन्दा ठूलो सत्य देखाउन सक्छ ।  तानसेनको सबैभन्दा ठूलो समस्या बजेट हो कि दृष्टिकोणको हो ? बजेट आवश्यक छ । तर बजेट मात्र विकासको आधार होइन । ठूलो बजेट भएर पनि स्पष्ट दृष्टिकोण नभए परियोजना छरिन्छन् । प्रभावहिन हुन्छन् । सानो बजेट भए पनि राम्रो दृष्टिकोण, संकल्प, प्राथमिकता, साझेदारी र व्यवस्थापन भए ठूलो परिणाम निकाल्न सकिन्छ । त्यसैले तानसेनलाई अहिले केवल “कति पैसा आयो, कति पैसाछ?” भन्ने प्रश्नभन्दा बढी, “पैसाले के परिवर्तन ग र्‍यो ?” भन्ने प्रश्न चाहिएको छ । 

सोचौं यदि यस्तै भइरह्यो भने तानसेनको भविष्य के होला ? यो सबैभन्दा महत्वपूर्ण प्रश्न हो । यदि तानसेनले आफ्नो बजार बुझेन, सम्पदाको मूल्य बुझेन, पर्यटनको सम्भावना बुझेन र मानवस्रोतको शक्ति परिचालन गर्न सकेन भने शहर विस्तारै सम्भावना भएको तर सम्भावना उपयोग गर्न नसकेको शहर बन्न सक्छ । युवाहरू बाहिरिन्छन् । व्यापार कमजोर हुन्छ । पुराना घर जीर्ण हुन्छन् । पर्यटक आउँछन् तर लामो समय बस्दैनन् । स्थानीय उत्पादनको बजार घट्छ । शहरको आर्थिक गतिविधि कमजोर हुन्छ । र अन्ततः इतिहासमा गर्व गर्ने विषय मात्र बन्छ । तानसेनको अगाडी उभिएको सबैभन्दा ठूलो खतरा यही हो । तानसेन इतिहासमा ठूलो वजनदार भन्ने रहन सक्छ, तर भविष्यमा सानो बन्न सक्छ ।  तर यसको भविष्य निराशाजनक भने छैन है । किनकि तानसेनसँग एउटा ठूलो फाइदा छ, त्यो हो पहिचान जुन अहिले सम्म जीवित छ । 
अझै पुरानो शहर छ । अझै संस्कृति छ । अझै सम्पदा छन् । अझै पुरानो मध्यकालिन बजार संरचना स्वरुपको बजार छ । अझै प्रकृति छ । अझै सिर्जनशील मानिस छन् । अझै युवाहरू छन् । अझै तानसेनप्रति माया गर्ने ठूलो समुदाय छ । अब आवश्यकता एउटै हो, सम्भावना देख्ने दृष्टि । तानसेनले आफूलाई गरीब स्रोत भएको शहर होइन, धेरै प्रकारका सम्पत्ति भएको शहर भनेर हेर्नुपर्छ ।  यसर्थ, अब तानसेनले पाँचवटा प्रश्न सोध्नुपर्छ ।  पहिलो प्रश्न,  हाम्रो बजारको विशेषता के हो ? दोश्रो प्रश्न, हाम्रो सम्पदाको आर्थिक र सांस्कृतिक मूल्य कति छ ? तेश्रो हो, पर्यटनबाट स्थानीय नागरिकले कसरी आम्दानी गर्छन ? चौथो हो, हाम्रो मानव पूजि कहाँ छ र त्यसलाइ कसरी जोड्ने ? पाचौं हो, हामीले आज गरेको कामले १० वर्षपछि टान्सेनलाई कहाँ पुर्‍याउँछ ? 

यी प्रश्नको इमानदार उत्तर खोज्न थालियो भने टान्सेनको विकास बहसको डिष्कोर्ष नै बदलिन्छ । यसको निष्कर्ष के हो भने तानसेनलाइ व्यक्ति होइन, दृष्टिकोण चाहिएको छ । तानसेनको समस्या केवल पैसा, सडक वा भवनको होइन । यहाँ पनि दृष्टिकोणकै समस्या हो । तानसेनले अब “हामीसँग छैन?” भनेर गुनासो गर्ने शहरबाट, “हामीसँग के छैन र त्यसलाई कसरी संसारसम्म पुर्‍याउने?” भन्ने संकल्प गरेको शहर बन्नुपर्छ ।
यसमा हामीले स्वीकार गर्नुपर्छ की म गर्न सक्दिनँ भन्नु कमजोरी होइन । तर गर्न सक्ने मान्छे खोज्न नसक्नु कमजोरी हो ।  कुनै एउटा व्यक्तिले सबै काम गर्न सक्दैन । कुनै एउटा संस्था पनि सबै कुरा गर्न सक्दैन । तर शहरका सबै शक्ति जोडिए भने असम्भव देखिएका काम पनि सम्भव हुन सक्छन् । त्यसैले तानसेनलाई अहिले सबैभन्दा बढी चाहिएको कुरा शायद नयाँ भवन होइन, नयाँ माइण्डसेट हो ।  बजारलाई बजारका रूपमा होइन, अर्थतन्त्रका रूपमा बुझौं,सम्पदालाइ सम्पत्तिका रूपमा   बुझ्छौं पर्यटनलाई लाई पाहुना ल्याउने काम होइन, स्थानीय अर्थतन्त्रको इन्जिनका रूपमा   बुझ्छौं , मानवशक्तिलाइ नगरका जनसंख्या मात्र होइन, पूँजीका रूपमा  बुझ्छौं र आफ्ना कमजोरीलाई ढाकछोप नगरीकन सुधार गर्नुपर्ने विषयका रूपमा   बुझ्छौं ।  तानसेनले यदि आफ्नै सम्भावना चिन्न सकेन भने समयले त्यसको मूल्य घटाउँदै लैजान सक्छ । तर तानसेनले आजै आफ्नो सम्भावना चिन्न थाल्यो भने , इतिहास बोकेको शहर मात्र होइन, इतिहासबाट भविष्य निर्माण गर्ने शहरको रुपमा पहिचानमा आउन सक्छ । अन्ततः प्रश्न यो “तानसेनले किन इग्नोर गर्छ?” भन्दा अझ ठूलो प्रश्न हो—“तानसेनले आफूभित्र रहेको सम्भावना कहिले चिन्छ ?” किनकि सम्भावना नदेख्ने शहर पछाडी पर्छ; सम्भावना देखेर पनि उपयोग नगर्ने शहर झन् ठूलो अवसर गुमाउँछ ।  यसर्थ तानसेनका लागि अब समय आएको छ, आफ्नो इतिहास पढ्ने, आफ्नो वर्तमान बुझ्ने, आफ्नो सम्भावना चिन्ने र आफ्नै भविष्य आफैँ बनाउने । तानसेनलाई अब केवल गौरवको कथा होइन, सम्भावनालाई परिणाममा बदलेको नयाँ कथा चाहिएको छ ।  अन्तमा, तानसेनमा इग्नोर होइन इन्टरनलाइज गर्ने, म होइन हामी भन्ने र जनशक्ति पहिचान र परिचालन गर्ने सोच चाहिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update