Shittalpati
पाल्पाबाट लागूऔषधसहित तीन जना पक्राउ

पाल्पा,पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडाबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार दिउँसो नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, सोही स्थानका २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरीका अनुसार बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ज ०५७१ नम्बरको विद्युतीय (ईभी) गाडीमा सवार उनीहरूलाई नियमित जाँचका क्रममा लागूऔषधसहित फेला पारिएको हो । तिनाउ गाउँपालिका–३ पैठेडाँडास्थित सडकमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले गाडी जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध बरामद गरेको जनाएको छ ।

बरामद भएको लागूऔषधमा नियन्त्रित औषधिका रूपमा प्रयोग हुने नाइट्राजेपाम ७५ ट्याब्लेट तथा स्पास्मो १७ ट्याब्लेट रहेको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न नाकामा नियमित चेकजाँचलाई कडाइ गर्दै आएको छ । बुटवल हुँदै पहाडी जिल्लातर्फ जाने सवारीसाधनमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ । सोही क्रममा पैठेडाँडामा गरिएको जाँचका क्रममा लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरूबाट बरामद लागूऔषधको स्रोत, प्रयोग तथा ओसारपसारमा उनीहरूको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update