Shittalpati
पाल्पा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

पाल्पा, पाल्पा अस्पताललाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको छ । जिल्लावासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारबाट प्राप्त एम्बुलेन्स विहीबार अस्पताललाई हस्तान्तरण गरिएको हो ।

भारतीय कम्पनीको  फोर्स एम्बुलेन्सको चावी अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र पौडेललाई हस्तान्तरण गरी एम्बुलेन्स सेवा सुचारु भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयको २५ लाख रुपैयाँ र अस्पताल विकास समितिको ८ लाख ५ हजार रुपैयाँ गरी कुल ३३ लाख ५ हजार रुपैयाँ लागतमा एम्बुलेन्स खरिद गरिएको डा. पौडेलले जानकारी दिए । उनका अनुसार क्याटलग विधिमार्फत खरिद गरिएको उक्त एम्बुलेन्समा अक्सिजनसहित आवश्यक स्वास्थ्य सामग्री जडान गरिएको छ । अस्पतालमा रहेको पुरानो एम्बुलेन्स मर्मत अभावका कारण सञ्चालनमा आउन नसकेको अवस्थामा प्रदेश सरकारको सहयोगमा नयाँ एम्बुलेन्स प्राप्त भएको उनले बताए । अस्पताल विकास समितिका अध्यक्ष कर्माचार्यले आमा सुरक्षा कार्यक्रमअन्तर्गत नागरिकलाई एम्बुलेन्स सेवा उपलब्ध गराइने बताउँदै यसबाट जिल्लाका बिरामी तथा सेवाग्राहीलाई थप सहज हुने विश्वास व्यक्त गरे । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेलगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update